लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभाबाट मर्जर र लाभांश प्रस्ताव पारित

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औँ वार्षिक साधारण सभा बिहिबार काठमाडौंमा सम्पन्न भएको छ ।

सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीको व्यवसाय लगायतका अन्य कामकारबाहीहरू, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि। गाभ्ने गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरू, कम्पनी गाभिएपछिको अवस्था आदिका बारेमा शेयरधनीहरुलाई विस्तृत रूपमा जानकारी गराएका थिए ।

सभामा विभिन्न शेयरधनीहरुले आफ्नो मन्तव्य राख्दै सगरमाथा इन्स्योरेन्स कम्पनीसँग हुन लागेको मर्जरप्रति खुसी प्रकट गर्दै सफलताको कामना गरेका थिए । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, आब २०७९/०८० को लागि लेखा परीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको चुक्ता पुँजीको ६.९९ प्रतिशतले खुद हुन आउने बोनस शेयर वितरण गर्ने र सो बमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिएको थियो ।

त्यसैगरी यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि। गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी र यस कम्पनीको शेयर आदान–प्रदान अनुपात १००ः८० हुने गरी स्वाप रेसियो कायम गर्ने, दुवै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण कामहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।