कृषि तथा पशुपन्छी बीमाको प्रक्रिया झन्झटिलो रहेको गुनासो

0
Shares

आम सर्वसाधारणले कृषि तथा पशुपन्छी बीमा गर्नका लागि कागजी प्रक्रिया झन्झटिलो रहेको गुनासो गरेका छन् ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरू बीमा गर्न गाउँ गाउँमा नआएको तथा कुन–कुन वस्तुको बीमा हुन्छ भन्ने जानकारी आम नागरिकसम्म पुग्न नसकेको पनि बताए ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशको आयोजनामा फागुन १७ गते बुधबार मधेश प्रदेशको रौतहट जिल्लाको गुजरा नगरपालिकासँग बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियाे ।

गुजरा नगरपालिकामा आयोजित बीमा सम्बन्धी अन्तरक्रियामा प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख रत्न लामाले नागरिकका जीवन र सम्पत्ति, कृषिबाली तथा पशुपन्छीको बीमा गराई आर्थिक सुरक्षण गर्नका लागि ठोस निर्णय गरी नगरपालिका अगाडि बढ्ने बताए ।

उपप्रमुख लामाले घटना कतिबेला भई के कस्तो हानी नोक्सानी हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा नहुने भएकाले घटनाबाट हुने क्षतिको क्षतिपूर्ति बीमा कम्पनीहरूबाट पाउनका लागि सबैले बीमा गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी प्रस्तुती गर्दै नगरपालिकाका सेवासँग आवद्ध गरेर घरको बीमालाई अनिवार्य गर्न नगरपालिकासँग आग्रह गरिन् ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले संचालन गरेको कार्यक्रममा गुजरा नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, बीमा, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधिहरू, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता, प्राविधिक, अगुवा कृषक लगायतको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।