महासंघमा महादंगल : अन्जनको प्यानल तयार, उपाध्यक्षका उम्मेदवारको हाहाकार


आसन्न नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरुले अनौपचारिक रुपमा प्यानल तयार गर्न थालेका छन् ।

यस क्रममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले प्यानल तयार भएको बताएका छन् ।

मंगलबार एक अनौपचारिक कार्यक्रममा श्रेष्ठले शीर्ष पदका उम्मेदवारहरुको टुंगो लागेको र सदस्यहरु टुंगो लाग्न बाँकी रहेको बताए । केही दिनमा आफ्नो प्यानलका सबै उम्मेदवार निश्चित गरी सार्वजनिक गरिने बताए ।

हाल महासंघका वस्तुगततर्फका उपाध्यक्ष रहेका श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा दाबेदारी दिँदैगर्दा ३ जना उपाध्यक्षका प्रत्यासीलाई साथमा लिएर अनौपचारिक रुपमा प्यानल तयार भएको बताएका हुन् ।

श्रेष्ठले आफ्नो प्यानलमा जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गीलाई अघि सारेका छन् भने एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगततर्फको उपाध्यक्षमा मनिशलाल प्रधानलाई अघि सारेका छन् ।

महासंघ नेतृत्वका लागि ४ जना वरिष्ठ उपाध्यक्षका प्रत्यासीको चर्चा चुलिए पनि पछिल्ला दिनमा ३ जनाले मात्र आफ्नो सक्रियता बढाएका छन् । जसमा अन्जनसँगै रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ छन् । रामचन्द्र र उमेशलालले आफ्नो प्यानललाई अन्तिम रुप दिन आन्तरिक कसरत गरिरहेका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार धेरै भएका कारण ९ देखि १२ जनासम्म उपाध्यक्षका उम्मेदवार समेटेर प्यानल बनाउन उम्मेदवारको अभाव नेतृत्वका उम्मेदवारलाई खड्किएको छ । जसका कारण वरिष्ठ उपाध्यक्षका उम्मेदवारका बिचमा उपाध्यक्षका उम्मेदवार तानातानको अवस्था बनेको छ । उपाध्यक्षका उम्मेदवार पनि कसको प्यानलमा समेटिने भन्नेमा प्रष्ट हुन नसकिरहेको अवस्थामा वरिष्ठ उपाध्यक्षका प्रत्यासीले फलानो उम्मेदवार आफ्नो भन्ने अनौपचारिक दाबी मात्र गर्दै आएका छन् । 

यस अघि हाल जिल्ला नगरको उपाध्यक्ष रहेका दिनेश श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्षमा दाबेदारी दिने तयारी गरेकोमा हाल उमेशलाल श्रेष्ठलाई सघाउने वा उमेशलाल श्रेष्ठको सहयोगमा आफु अघि बढ्ने भन्ने कसरत गरिरहेका छन् ।

महासंघको ५७ औं साधारणसभा आगामी चैत २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ। साधारणसभा पछि हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुनेछन् भने एक जना वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष र अन्य कार्यकारणी पदका लागि निर्वाचन हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।