प्रिमियर स्टीलको रेटिङमा गिरावट, साढे ३ अर्ब कर्जाका लागि रेटिङ

0
Shares

शारडा र राठी ग्रुपको संयुक्त लगानीमा सञ्चालन भइरहेको प्रिमियर स्टील उद्योगले कर्जा रेटिङका लागि आवश्यक जानकारी उपलब्ध नगराउँदा कम्पनीको रेटिङमा गिरावट आएको छ ।

रेटिङ एजेन्सी इक्रानेपालका अनुसार कम्पनीले ३ अर्ब ५५ करोड बराबरको दीर्घकालीन र अल्पकालीन कर्जाका लागि रेटिङ गराएको हो । तथपि रेटिङका लागि आवश्यक पर्ने वित्तीय सूचांकहरुको विवरण कम्पनीले नदिएपछि इक्रा नेपालले यस अघि कम्पनीलाई कर्जा रेटिङका लागि दिएको रेटिङ घटाएको छ ।

इक्रा नेपालले ६८ करोड ९६ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस रेटिङ गरेको छ । यसअघि कम्पनीले दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स रेटिङ गरेको थियो । डबल बी माइन्स रेटिङ घटुवा गरी इक्रानेपालले कम्पनीलाई बी प्लस रेटिङ गरेको छ भने ‘इस्सुअर नट कोअपरेटिङ’को सूचीमा पनि राखेको छ ।

यस्तै २ अर्ब ८६ करोड ४ लाख बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले ए४ रेटिङ गरी ‘इस्सुअर नट कोअपरेटिङ’को सूचीमा कम्पनीलाई राखेको छ । इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कम्पनीले सन् २०२१ मा ६ अर्ब १८ करोड ७० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो ।

सन् २०२१ मा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र कर अघिको आम्दानी कुल सञ्चालन आम्दानीको ६ प्रतिशत रहेको थियो ।

यस्तै कम्पनीले लिएको कर्जाको ऋण भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ३.३ गुणा थियो ।

सन् २०२१ पछि इक्रानेपालले कम्पनीसँग वित्तीय सूचांकको जानकारी लिनका लागि सम्पर्क गर्दा कम्पनीले सहकार्य नगरेको इक्राले जनाएको छ ।

सन् २०१६मा स्थापना भएको प्रिमियर स्टील प्रालि स्टील उत्पादक कम्पनीमा नवप्रवेसी कम्पनी हो । यस कम्पनीको प्लान्ट सुनसरी जिल्लाको दुहाबीमा रहेको छ । कम्पनीले टीएमटी बार र वायरको उत्पादन गर्दै आएको छ भने कम्पनीमा शारडा ग्रुप र राठी ग्रुपको लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।