आफ्नै काममा पुरुषको तुलनामा महिलाको संलग्नता धेरै

0
Shares

नेपालमा आफ्नै काम गर्ने पुरुषको तुलनामा महिलाको संलग्नता धेरै रहेको छ ।

राष्ट्रिय जनगणना  २०७८ अनुसार नेपालमा आफ्नै काम गर्ने मानिसहरुको सङ्ख्या ८२ लाख ९२ हजार ४५ रहेको छ । जसमध्ये पुरुषको सङ्ख्या ४० लाख ९६ हजार ५९२ छ भने महिलाको सङ्ख्या ४१ लाख ९५ हजार ४५३ रहेको छ । आफ्नै काम गर्ने महिलाको सङ्ख्या पुरुषको तुलनामा ९८ हजार ८६१ ले धेरै छ ।

आफ्नै काम गर्ने मानिसहरुको सङ्ख्या सबैभन्दा धेरै कर्णाली प्रदेशमा रहेको छ । आफ्नै काम गर्ने ६५.६ प्रतिशत मानिसहरु कर्णाली प्रदेशमा बसोबास गर्छन् भने सबै भन्दा थोरै आफ्नै काम गर्ने मानिसहरु मधेश प्रदेशमा रहेका छन् । मधेश प्रदेशका कुल काम गर्ने मानिसहरुमध्ये आफ्नै काम गर्ने मानिसहरुको सङ्ख्या ४९ प्रतिशत रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार आर्थिक क्रियाकलापमा संलग्न रहेका १० वर्ष वा सो उमेर बढिका मानिसहरुको सङ्ख्या १ करोड ४९ लाख ८३ हजार ३ सय १० छ । जसअन्तर्गत आर्थिक क्रियाकलापमा संलग्न महिलाको सङ्ख्या ७१ लाख ६ हजार ९८८ रहेको छ भने पुरुषको सङ्ख्या ७८ लाख ७६ हजार ३२२ रहेको केन्द्रीय तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रीय तथ्यांक विभागले प्रकाशन गरेको तथ्यांक अनुसार नेपालमा ४२ लाख ९२ हजार ५७१ मानिसहरुले अरुको काम गर्छन् । अरुको काम गर्ने पुरुषहरुको सङ्ख्या २७ लाख ३४ हजार ७८१ रहेको छ भने १५ लाख ५७ हजार ७९० महिलाहरुले अरुको काम गर्छन् । अरुको काम गर्ने पुरुषको सङ्ख्या महिलाको तुलनामा १२.८ प्रतिशत विन्दुले धेरै छ । 

यस्तै परिवारमा सघाउने पुरुषको सङ्ख्या ८ लाख ७८ हजार ७१६ छ भने महिलाको सङ्ख्या १२ लाख ९६ हजार ६६४ रहेको तथ्यांक विभागले जनाएको छ । नेपालबाट विदेशीने सङ्ख्या पुरुषको धेरै छ जसकारण परिवारका काम सघाउने पुरुषको सङ्ख्या महिलाको तुलनामा ७ प्रतिशत विन्दुले कम छ ।

नेपालमा कुल रोजगारदाता २ लाख १२ हजार ३७० रहेका छन् । विसं २०७८को जनगणना अनुसार पुरुष रोजगारदाताको सङ्ख्या १ लाख ६० हजार २९२ रहेको छ भने महिला रोजगारदाताको सङ्ख्या ५२ हजार ७८ छ । रोजगारदाताहरुको सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा उच्च रहेको छ । बागमती प्रदेशमा कुल रोजगारदाता ७० हजार २८९ रहेका छन् ।

यस्तै संस्थागत क्षेत्रमा १ करोड ४९ लाख ८३ हजार ३१० मानिसहरु आवद्ध छन् । जनगणना अनुसार नेपालमा सबैभन्दा धेरै मानिसहरु घरायसी काम गर्छन् । ९२ लाख ६० हजार ४६२ मानिसहरु घरायसी काममा आवद्ध रहेका छन् । कुल संस्थागत क्षेत्रमा काम गर्ने मानिसहरु मध्ये घरायासी का मगर्ने महिलाको सङ्ख्या ६६.५ प्रतिशत रहेको छ भने पुरुषको सङ्ख्या ५७.६ प्रतिशत रहेको छ ।

जनगणनाको तथ्यांक अनुसार नेपालको सरकारी सेवामा कुल ५ लाख ८५ हजार १६४ आवद्ध छन् । वित्तीय संस्थामा काम गर्ने मानिसहरुको सङ्ख्या १ लाख ६३ हजार ९४६, गैर–वित्तीय संस्थामा ४८ लाख ९६ हजार ६७३ संलग्न रहेका छन् । नाफा नकमाउने संस्थामा ६४ हजार ४०४ मानिसहरु आवद्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।