राष्ट्र बैंकले २ अर्ब मुद्दती निक्षेपमा लगानी गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेप राख्न लागेको हो ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर तोकी बोल आह्वान गरेको छ । केन्द्रीय बैंकले निक्षेप राख्न लागेको रकम मध्ये क वर्गका वाणिज्य बैंकहरुमा एक अर्ब ५४ करोड ८६ लाख, ख वर्गका बैंकमा २९ करोड ४ लाख र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ९ करोड ६८ मुद्दती निक्षेप राख्न लागेको हो ।

उक्त मुद्दती निक्षेप लिन इच्छुक संस्थाहरुले चैत १६ गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले लगानी गर्न लागेको उक्त निक्षेप लिनका लागि बैंक वित्तीय संस्थाले तोकिएको मापदण्ड पुरा गरेको हुनुपर्छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष हुनुपर्ने, बैंकको तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका शर्त राखिएको छ ।

केन्द्रीय बैंकको वित्त व्यवस्थापन विभाग अवकाश कोष इकाईले तोकिएको शर्त पूरा गरेर आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।