पुँजी बजारको थप विकास र विस्तारका लागि मेरो उम्मेद्वारी: अम्बिका पौडेल

0
Shares

निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोल तातिँदै गएको छ ।

यसै क्रममा पुँजी बजारको विकास र विस्तारमा सक्रिय भूमिका खेल्दै आएका अम्बिका प्रसाद पौडेलले एसोशिएट्सतर्फको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् ।

महासंघको ५४ औं वार्षिक साधारण सभा एवं निर्वाचनबाट एसोशिएट्सतर्फ लोकप्रिय मत ल्याएर सदस्य बनेका पौडेल नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको संयोजक समेत हुन् ।

पौडेल महासंघको सदस्यमा निर्वाचित भएसँगै पहिलो पटक पूँजी बजारलाई समेट्दै अन्य समितिहरु सरह पूँजी बजार फोरम गठन भएको थियो । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष एवं सक्रिय लगानीकर्ता अम्बिकाप्रसाद पौडेल थुप्रै उद्योग व्यवसायमा पनि संलग्न छन् ।

पुँजी बजारका लागि परिचित पौडेल पूर्व निजामति कर्मचारी समेत हुन् । २०५५ सालमा लेखा अधिकृतको रुपमा निजामति सेवा प्रवेश गरेका पौडेल महालेखा परीक्षकको कार्यालयमा लेखा अधिकृत भएर काम गरेका थिए । उनले २०६५ सालमा भने सरकारी जागिर छाडे।

स्याङ्जाको सामान्य परिवारमा जन्मिएर हुर्किएका पौडेलले एमबीएसम्मको अध्ययन पूरा गरेका छन् भने सार्वजनिक प्रशासनमा पनि स्नात्तकोत्तर गरेका छन् । सरकारी जागिर छाडेपछि उनी पूर्ण रुपमा सेयर बजारमा लाग्न थाले । सेयर बजारमा लगानी मात्रै होइन बजार विकासका लागि आवश्यक नीति निर्माणमा समेत पौडेलको सक्रिय भुमिका रहँदै आएको छ ।

पौडेल नेपाल टेलिकमको सञ्चालक समितिमा समेत रहेका छन् । विभिन्न पब्लिक कम्पनीको सञ्चालक रहिसकेका पौडेल उत्पादनमूलक उद्योगदेखि बैंक, बीमा, पर्यटन लगायतका धेरै क्षेत्रमा आवद्ध छन् । उनी आफ्नो उम्मेद्वारी पुँजी बजारको विकास र विस्तारकै लागि भएको बताउँछन् ।

पुँजीबजारको विकास र विस्तारका लागि सक्रिय रुपमा काम गर्ने किसिमले फोरमको संरचना विस्तार गर्ने पौडेलको योजना छ ।

बजार सुधारका लागि आवश्यक नीति निर्माणका लागि सम्बद्ध पक्षसँगको सहकार्यलाई फोरमले केन्द्रमा राखेर काम गरिरहेको र आफु निर्वाचित भएपछि यो फोरमलाई अझै शसक्त रुपमा अघि बढाउने उनले बताए ।

पुँजीबजार सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका पौडेल महासंघमा आफु र फोरमले सक्रिय भुमिका निर्वाह गर्ने बताउँछन् । यसका लागि आवश्यक सल्लाह सुझाव र सहयोगका लागि उनले सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।