महासंघका पूर्व अध्यक्ष प्रदिप कुमारको दोस्रो पुस्ता उज्वल कुमार चुनावी अभियानमा


नेपाल उद्योग वाणिज्य महासंघको चुनावी कार्यक्रम नजिकिँदै गर्दा सरगर्मी पनि बढ्दै गएको छ । शीर्ष नेतृत्वको दौडमा रहेका उम्मेदवारहरु आफू केन्द्रित औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु गरिरहेका छन् ।

महासंघको नेतृत्वमा जानका लागि कार्यकारिणी सदस्यदेखि वरिष्ठ उपाध्यक्षसम्मका प्रत्यासीहरुले आफ्नो सक्रियता बढाइरहेका छन् । यसै भीडमा एशोसिएटतर्फ सदस्य पदमा पन्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्वल कुमार श्रेष्ठले दाबेदारी प्रस्तुत गरेका छन् ।

महासंघका पूर्वअध्यक्ष प्रदिप कुमार श्रेष्ठका भतिजा उज्वलले महासंघलाई अझ सशक्त र प्रभावकारी बनाउने उदेश्यले युवा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गर्दै आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् । महासंघ नेतृत्व गरिसकेका प्रदिप कुमारको दोस्रो पुस्ताको रुपमा उद्योग व्यवसायमा सक्रिय उज्वल महासंघमा पनि दोस्रो पुस्ताका रुपमा उदाउन खोजेका हुन् ।

५० वर्ष लामो इतिहास बोकेको औद्योगिक घराना ‘पञ्चकन्या ग्रुप’ को नेतृत्व गरिरहेका श्रेष्ठले महासंघको एसोसियट कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका हुन् । पन्चकन्या ग्रुपमा मार्केटिङ म्यानेजरको रुपमा जागिर सुरु गरेका उज्जल आफ्नो मेहनतले नै कार्यकारी निर्देशक भएको बताउँछन् । निजी व्यवसायमा प्राप्त गरेका ज्ञान र अनुभवलाई समग्र उद्योगी व्यवसायीको हीतमा सदुपयोग गर्नका लागि आफूले महासंघको सदस्यमा दाबेदारी दिएको उनको भनाई छ ।

“पञ्चकन्या स्थापनाको जग नै विश्वासमा अडिएको छ । हामीले सुरुका दिनदेखि गरेको कामबाट विश्वास दिलाउन सकेकाले नै धेरै कुरा फैलाउन सकेका छौं । हामी यो बीचमा उद्योगका साथै जलविद्युत्, व्यापार, शिक्षाजस्ता धेरै क्षेत्रमा हामीले काम गरिरहेका छौं । यो अनुभवलाई महासंघमा खर्चिन खोजेको छु,” श्रेष्ठ भन्छन् ।

उद्योग व्यवसायमा सक्रिय हुँदै गर्दा उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघमा पनि प्रतिनिधित्व गर्दै सबैका लागि काम गर्न दाबेदारी दिएको उनको भनाई छ ।

इलाममा किराना पसलबाट सुरु भई झापामा इट्टाभट्टादेखि बिस्तार भएको पन्चकन्या ग्रुपले व्यापार, कृषि हुँदै निर्माण क्षेत्रमा व्यवसाय बिस्तार गरी जलविद्युत आयोजनासम्मका परियोजना सञ्चालन गरिरहेको छ ।
पञ्चकन्या ग्रुपभित्र र पार्टनरसिपको व्यवसायमा प्रत्यक्ष रूपमा २ हजार जनाले रोजगारी पाइरहेका छन् । जसमा काठमाडौँ उपत्यकाभित्र करिब ४ सय जनाले रोजगारी पाइरहेका छन् ।

महासंघमा गएर समग्र उद्योग व्यवसायको विकास र बिस्तारमा रचनात्मक भूमिका खेल्ने उनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।