साना मझौलादेखि सबै खाले व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउँछु : उमेशलाल श्रेष्ठ


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सबै उद्योगी व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउनुपर्ने आवश्यकता टड्कारो रहेको बताएका छन् ।

“अहिले साना, घरेलु तथा मझौला उद्योगी व्यववसायीहरुको समस्या एकदमै जटिल बन्दै गएको छ भने वस्तुगत र जिल्ला नगरका उद्यमी व्यवसायीको अवस्था एकदमै दयनीय बनेको छ,” महासंघको ५७ औं साधारणसभामा बोल्दै उनले भने, “वस्तुगत तथा जिल्ला नगरका साथिहरु आफ्ना समस्या लिएर सडक अन्दोलनमा उत्रदा पनि महासंघ नेतृत्वले नदेखेको र नसुनेको अवस्था छ ।”

अहिले महासंघका जिल्ला नगर, वस्तुगत, एसोसिएट्स र द्धिराष्ट्रिय संघबीच अन्तरसम्बन्ध नरहेको भन्दै आगामी दिनमा सबै पक्षहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाई थियो । “मेरो विरासत कुनै ठूलो व्यवसायिक घरना होइन, तर मैले सानोबाट प्रवेश गरेर अहिले राम्रै अवस्थामा आफ्नो व्यवसाय संचालन गरिरहेको छु भने महासंघमा पनि मेरो लामो अनुभव छ,” उनले भने, “महासंघमा उद्योगी व्यवसायीहरुको जे माग हो मेरो एजेण्डा पनि त्यहिँ नै हो । त्यही एजेण्डालाई सम्बोधन गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु ।”

महासंघका उद्योगी व्यवसायीका समस्या सुन्ने, देख्ने र उक्त समस्या समाधानका लागि सम्बन्धित निकायमा लविङ गर्न सक्ने निडर नेतृत्वको आवश्यकता रहेको भन्दै त्यसका लागि आफु निर्विकल्प रहेको समेत उनको दाबी थियो । “हामीले व्यवसायी माझ जे बोल्छौं सरकारसँग पनि त्यहिँ विषय इमान्दारिताका साथ उठाउन पर्छ,” उनले भने, “त्यो इमान्दारिता मसँग छ यदि तपाइहरुले निर्वाजित गरेर पठाउनु भएको खण्डमा पूर्ण रुपमा पालना गर्नेछु ।”

नयाँ नेतृत्व चयनसँगै महासंघका आगामी अध्यक्ष चन्द्रप्रसाद ढकालको सहयोगीको रुपमा अघि बढन् वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको भन्दै आफुले जितेको अवस्थामा सबै खाले उद्यमी व्यवसायीले अपनत्व गर्ने महासंघ बताउने समेत उनको प्रतिवद्धता थियो ।

आर्थिक क्षेत्रको सम्वाहक निजी क्षेत्र भएको र निजी क्षेत्र नभई सरकार नचल्ने भन्दै अहिलेको अवस्थामा निजी क्षेत्रको मनोवल उकास्न नयाँ नयाँ कार्यक्रम ल्याउन महासंले पहल गर्नुपर्ने उनले बताए । बजारमा देखिएको मागको गिरावटले उद्योगी व्यवसायीको सामान बिक्री हुने अवस्था नभएका कारण बैंकको कर्जा तिर्न असहज अवस्था बनेको उनको भनाई थियो । “हामीले बैंकको कर्जा वा ब्याज तिर्दैनौं भनेका छैनौं तर अहिलेको अवस्थामा राष्ट्र बैंकले कर्जाको पुर्नतालिकिरण र सरकारले ब्याजमा सहुलियत दिनु जरुरी छ ।” देशको अर्थतन्त्रमा निजी क्षेत्रले ६५ देखि ७० प्रतिशत योगदान दिँदै आएको भन्दै अर्थतन्त्र जोगाउनका लागि पनि सरकारले निजी क्षेत्रको सुरक्षा गर्नुपर्ने उनको भनाई थियो ।

महासंघभित्र शुद्धिकरण जरुरी भएको भन्दै आफु निर्वाचित भएको खण्डमा तुरुन्तै उक्त कामको थालनी गर्ने उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।