महासंघको बरिष्ठ उपाध्यक्ष निर्वाचनः दोस्रो चरणमा अन्जन र उमेश, संघई पहिलो चरणबाट बाहिरिए

0
Shares

नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा पहिलो चरणको निर्वाचनका प्रतिस्पर्धी तीन उम्मेदवार कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । दोस्रो चरणको निर्वाचनमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच हुनेछ भने रामचन्द्र संघई प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

पहिलो चरणको अन्तिम मतपरिणाममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत तथा रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन् ।

यसैगरी जिल्लारनगरतर्फ अन्जनले २०.६१, रामचन्द्रले १७.१०, उमेशलालले १२.२८ प्रतिशत मतभार पाएका थिए। एशोसिएट्सतर्फ रामचन्द्रले ११.४०,अन्जनले १०.६६, र उमेशलालले ७.९२ मतभार पाएका छन्। बस्तुगततर्फ उमेशललाले ११.३१, अन्जनले ६.७२ र रामचन्द्रले १.९६ प्रतिशत मतभार पाएका थिए।

महासंघको विधानअनुसार जिल्ला नगरतर्फको मत भार ५० प्रतिशत, एसोसिएटतर्फको मतको भार ३० र वस्तुगततर्फको मतभार २० प्रतिशत रहने गर्छ।

निर्वाचन आजै

वरिष्ठ उपाध्यक्षका लागि आजै निर्वाचन हुनेछ । मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि आज दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।