उद्योग वाणिज्य महासंघमा उम्मेदवारी दिएका महिला मध्ये ८३ प्रतिशत विजयी


नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा ५ जना महिला उद्यमी व्यवसायी प्रत्यक्ष निर्वाचित भएका छन् ।

महासंघको एशोसिएट उपाध्यक्षदेखि विभिन्न पदमा परेको कुल उम्मेदवारीका आधारमा विजय हासिल गर्नेहरु ८३ प्रतिशत हाराहारी पुगेका हुन् । कुल ६ जनाको उम्मेदवारी पर्दा ५ जनाले जित हासिल गर्दा यस्तो नतिजा आएको हो ।

महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र कार्यकारिणी समिति सदस्यहरुमा कल्पना गैरे, कमला श्रेष्ठ, शोभा ज्ञवाली र जुना माथेमा निर्वाचित भएका हुन् ।

महासंघ विधानको नियम अनुसार कार्यकारिणी समितिमा मनोनित हुने ३ सदस्यमध्ये एक जनालाई अनिवार्य गरिएको छ । त्यस अनुरुप हालको समितिमा कूल महिला प्रतिनिधित्व संख्या ६ पुग्नेछ ।

महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले ८४६ मतसहित विजय हासिल गरेकी हुन् । उनी यसअघि तीन कार्यकाल एशोसिएट सदस्यमा निर्वाचित भएकी थिइन् । उनी मेरीगोल्ड ज्वेलर्सकी सञ्चालक हुन् । ज्योत्सना नेपाल रत्न तथा आभूषण संघको अध्यक्ष पनि हुन् । एशोसियट समुहबाट उपाध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएकी श्रेष्ठले भरतराज आचार्यलाई पराजित गरेकी हुन् ।

महासंघमा हालका अध्यक्ष शेखर गोल्छाभन्दा अघि भवानी राणाले महासंघको नेतृत्व गरेकी थिइन् । इतिहासमै भवानी राणा पहिलो पटक विसं २०७३ सालमा महासंघको अध्यक्ष बनेकी थिइन् । उनको कार्यकालमा समेत महासंघमा महिला उपस्थिति कमजोर थियो ।

महासंघमा तेस्रो कार्यकाल सदस्य निर्वाचित भएकी कमला श्रेष्ठ नेपाल सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष हुन् । उनी वस्तुगत समूहबाट सदस्य निर्वाचित भएकी हुन् । बस्तुगतमा १४ केन्द्रिय सदस्यमा लागि २८ जनाको उम्मेदवारी परेको थियो ।

महासंघमा वस्तुगत समूहबाटै सदस्य निर्वाचित शोभा ज्ञवाली मिडिया उद्यमी हुन् । उनी महिला उद्यमी महासंघकी उपाध्यक्ष हुन् ।

एफएनसीसीआईमा महिला सहभागिता न्यून, मनोनयनको ५% मात्रै उम्मेद्वार

महासंघमा यसअघि दुई कार्यकाल सदस्य मनोनित भइसकेकी कल्पना गैरे पहिलोपटक जिल्लानगरबाट प्रत्यक्ष निर्वाचित भएकी छन् । उनी पूर्वअध्यक्ष भवानी राणापछि जिल्लानगरबाट महासंघमा प्रत्यक्ष निर्वाचित पहिलो महिला पनि हुन् । उद्योग वाणिज्य महासंघबाट महासंघमा चयन हुने १८ केन्द्रीय सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको थियो ।

एशोसिएट समूहबाट सदस्यमा निर्वाचित जुना माथेमा ब्लिट्ज मिडिया नामक विज्ञापन तथा रिसर्च एजेन्सी सञ्चालिका हुन् । उनले ९९१ मत ल्याएकी छन् । एशोशियट तर्फबाट चयन हुने केन्द्रिय सदस्यका लागि ३० जनाले मनोनयन दर्ता गरेका थिए ।

महासंघको कार्यकारिणी समिति ७९ सदस्यीय हुने व्यवस्था छ । नयाँ कार्यमतिमा पुग्नका लागि चैत २१ गते मंगलबार भएको मनोनयन दर्तामा ११९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमा महिलाहरुको संख्या ६ थियो । ६ जना मध्ये ५ जनाले जित हासिल गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।