स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकको १३ अर्ब सहयोग

0
Shares

विश्व बैंकले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि १० करोड डलर अर्थात् १२ अर्ब ९१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

नेपालमा स्वास्थ्य सेवाको गुणस्तर सुधारका निमित्त विश्व बैंकले ‘नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम’ मार्फत १० करोड डलर सहयोग गर्नेछ । १० करोड डलरमा ३८ लाख डलर अनुदान हुनेछ भने बाँकी ऋण रहेको छ। 

यो कार्यक्रम अन्तर्गत मूलतः कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने, स्वास्थ्य बीमा सम्बन्धी जनचेतना फैलाउने र आपत्कालीन अवस्थामा आवश्यक पर्ने स्वास्थ्य संयन्त्रको विकास गरिने छ ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी लगानी गर्दा नेपाललाई उत्पादकत्व वृद्धि गर्न, स्वास्थ्यको अवस्था सुधार गर्न र आर्थिक वृद्धि दरमा सकरात्मक सुधार ल्याउन समेत सहयोग मिल्ने विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक फेरिस हडाड र्जभोसले बताएका छन् ।

विश्व बैंकले सञ्चालन गर्ने सो कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयनमा केन्द्रीय, प्रादेशीक तथा स्थानीय सरकारमा सञ्चालन हुँदै आएका स्वास्थ्य बीमा बोर्ड र नेपाल स्वास्थ्य क्षेत्र विकास रणनीतिक योजना २०२२–२०३०मा आधारित रहनेछ ।

यस कार्यक्रमले स्वास्थ्यसेवाको समान पहुँच वृद्धि गरी स्वास्थ्य प्रणालीको दक्षता अभिवृद्धि गर्ने, आपत्कालीन स्वास्थ्यसेवाको व्यवस्था गर्ने तथा स्वास्थ्य सेवामा दिगो लगानी बढाउने उद्देश्य लिएको छ ।

यस कार्यक्रमले आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा विस्तारका लागि ३८ लाख ४० हजार डलर अर्थात् ४९ करोड ५९ लाख रुपैयाँ बराबरको “हेल्थ इमरजन्सी प्रिपेडनेस एन्ड रेस्पोन्स ट्रस्ट फन्ड” स्थापना गर्नेछ । जसअन्तर्गत आपत्कालीन अवस्थाको लागि आवश्यक स्वास्थ्य प्रणाली निर्माण गर्न, प्रभावित क्षेत्रमा दु्रत गतिमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि सो कोषको रकम प्रयोग गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।