उद्योगहरुमा विद्युत आपूर्ति कटौती गर्ने प्राधिकरणको तयारीप्रति उद्योगीको ध्यानाकर्षण


मोरङ–सुनसरी–कटहरी क्षेत्रका औद्योगिक कोरिडोरका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले विभिन्न प्राविधिक त्रुटि देखाउँदै विद्यूत आपूर्ति कटौति गर्ने भनेपछि सो क्षेत्रका उद्योगी व्यवसायीले ध्यानाकर्षण भएको बताएका छन् ।

आइतबार मोरङ व्यापार संघले विज्ञप्ति जारी गर्दै प्राधिकरणले विद्युत कटौती गर्ने धम्की दिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

“विगतका कोभिडका बन्दाबन्दी तथा विद्यमान तरलता अभाव, चर्को बैंक व्याजदर लगायत अनेक आर्थिक जटिलताहरुका बावजूद जेनतेन संचालनमा रहेका उद्योगहरुमा उद्योगको अक्सीजनको रुपमा रहेको विद्युतको आपूर्ति समेत असहज हुँदा उद्योगहरु जोखिमपूर्ण अवस्थामा पुगेका छन्,” संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“उद्योगहरुको हकमा हाम्रो नेतृत्वमा संचालित उक्त कार्यक्रम लगत्तै हाल प्राधिकरणले उद्योगहरुमा कपासिटर बैंक नभएको वा संचालन नगरेको सामान्य प्राविधिक कारण देखाउँदै सम्बन्धित उद्योगलाई कुनै लिखित सुचना विना नै मौखिक रुपले तत्कालै विद्युत आपूर्ति कटौति गरिदिने धम्की दिनाले प्राधिकरणका जिम्मेवार अधिकृतहरुबाट त्यस प्रकारका गतिविधिहरु कतै यस संघको विरोध कार्यक्रमको प्रतिशोध स्वरुप त भएको होइन ? भन्ने प्रश्न उब्जीएको छ,” विज्ञप्तिमा भनिएको छ ।

प्राधिकरणलाई जिम्मेवारपूर्ण तवरले उद्योगहरुको मर्मलाई आत्मसात गर्दै उद्योगहरुप्रति संवेदनशिल भई विद्युत आपूर्ति सहज गरिदिन संघले आग्रह गरेको छ । विद्युत कटौतिको निर्धारित तालिका उपलब्ध गराउन, कपासिटर बैंक संचालनमा ल्याउन नसकेका उद्योगहरुलाई उचित समय दिन, संकटग्रस्त उद्योगहरुमा असहज अवस्था नबनाउन र उद्योगहरुमा कार्यरत हजारौँ श्रमिकहरुको रोजगारीको संरक्षण गर्न पनि संघले आग्रह गरेको छ ।

प्राधिकरणबाट केही महिनायता भई रहेको अनियमित र अनिर्धारित विद्युत कटौतिबाट समस्याग्रस्त उद्योग क्षेत्रको नेतृत्व गर्दै यस संघले प्राधिकरणका प्रादेशिक कार्यालय र ग्रीडमा गई उद्योग क्षेत्रका लागि निर्वाध रुपमा विद्युत आपूर्ति गर्न यस अघि नै माग गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।