टोयोटाको कार बेच्ने सुरज वैद्यको कम्पनीको आम्दानी १०४ प्रतिशत घट्यो

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको कम्पनीको आम्दानीमा भारी गिरावट आएको छ । नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक बिक्रेता युनाइटेड टे«डर्स सिन्डीकेट प्रालिको आम्दानीमा १०४ प्रतिशतले घटेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ६१ करोड ५० लाख बराबरको सञ्चालन आम्दानी गरेको कम्पनीले चालु आवको ६ महिनामा १ अर्ब ८६ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ । गत आवको ६ महिनाको तुलनामा चालु आवमा कम्पनीको सञ्चालन आम्दानी १०४ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७९/८०को वैशाखदेखि मंसिर मसान्तसम्म सरकारले विलासी सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको थियो । टोयोटा मोटर्सले उत्पादन गर्ने सवारी साधन उच्च विलासी सवारी साधनमा सूचित छन् । यस्तै बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभावका कारण कम्पनीले गाडी खरिदका लागि प्रतीतपत्र तथा कर्जा लिन सकेको छैन । जसको प्रत्यक्ष प्रभाव युनाइटेड टे«डर्स सिन्डीकेटको आम्दानीमा परेको छ ।

कम्पनीले चालु आवको ६ महिनामा ९४ वटा मात्रै कारहरुको बिक्री गरेको छ । जुन गत आवको तुलनामा २११ वटाले कम हो । गत आवको सोहि अवधिमा कम्पनीले ३०५ वटा कारहरुको बिक्री गरेको थियो । सरकारले विदेशी विनिमय सञ्चिति बढाउनका लागि अवलम्बन गरेको आयात कटौतीका कारण ग्राहकले अर्डर गरेको सवारी साधन समयमा डेलिभर हुन सकेन । यस्तै सरकारले पेट्रोल इन्जिन सवारी साधनहरुको आयातमा कटौती गरेता पनि विद्युतीय सवारी साधनहरुको आयातमा कटौती गरेको थिएन । जसकारण विद्युतीय कारहरुमा मानिसहरुको रुचि बढ्दै गयो। जसको प्रत्यक्ष असर कम्पनीको सेल्समा परेको छ 

तथापि वर्तमान समयमा सरकारले आयातमा लगाएको कटौती फुकुवा गरेको छ । टोयोटा ब्रान्ड र यस ब्रान्डप्रति मानिसहरुको गहिरो विश्वास रहेको छ । जसकारण आगामी समयमा कारहरुको सेल्स बढ्ने र कम्पनीको आम्दानीमा सकारात्मक सुधार आउन सक्छ ।

यस्तै कम्पनीले देशका मुख्य सहरहरुमा डिलर स्थापना गरेको छ । हाल कम्पनीका १० डिलर संस्था सञ्चालनमा रहेका छन् । सन् १९७१ मा सुरज वैद्यका बाबु डा. विजय वैद्यले कम्पनीको स्थापना गरेका थिए । स्थापनाको समयदेखि नै कम्पनी टोयोटा माटर्सको आधिकारिक बिक्रेता रहेको छ । स्थापनाको समयदेखि नै कम्पनीले टोयोटा मोटर्स र स्पेयर पार्टसको बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा सुरज वैद्यको ६० प्रतिशत, रितु सिङ वैद्यको ३० प्रतिशत र सुसन वैद्य श्रेष्ठको १० प्रतिशत लगानी रहेको छ ।

कम्पनीले ४ अर्ब बराबर रुपैयाँको अल्पकालीन कर्जा लिएको छ । रेटिङ एजेन्सी केयरनेपालले ४ अर्ब बराबरको अल्पकालीन कर्जाका लागि ए–३ रेटिङ गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।