अर्थतन्त्र मन्दीतर्फ जाँदा सरकार र केन्द्रीय बैंक संवेदनशील बनेनन् : उद्योग वाणिज्य महासंघ


नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र मन्दीतर्फ लागिरहेका बेला सरकार र केन्द्रीय बैंक संवेदनशील हुन नसकेको आरोप लगाएको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले नीतिगत परिवर्तनको श्रृङ्खलाले अर्थतन्त्र प्रभावित बनेको बताएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयद्धारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्वित गरेको भन्दै महासंघले यस बर्ष १.८६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण हुनु, पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखाएको दाबी गरेको हो ।

“उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋणात्मक हुनु भनेको निजी क्षेत्र संकुचित हुदै गएको संकेत हो,” महासंघले भनेको छ ।

एक बर्षदेखि अन्तराष्ट्रिय बजारमा बढेको मुल्य र मुलुकभित्र भएका नीतिगत परिवर्तनका कारण अर्थतन्त्र मन्दीमा जानेतर्पm सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै आएको बताएको महासंघले सम्बन्धित निकायबाट पहल नहुँदा अर्थतन्त्रमा चाप परेकोतर्पm गम्भीर ध्यानाकर्षण गराएको छ ।

सरकार र नेपाल राष्ट्र बैंक सम्वेदनशील हुनुपर्ने आवश्यकता महसुस भएको बताएको महासंघले अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनुपर्नेमा जोड दिएको छ । उद्यमी व्यवसायीले काम गर्न नपाउँदा राजस्व पनि करिब १६ प्रतिशतले ऋणात्मक रहेको उल्लेख गर्दै महासंघले बजारमा माग बढाउन सरकारले अनावश्यक खर्च कटौति गरि पूँजीगत खर्च बढाउन आग्रह गरेको छ ।

निजी क्षेत्रको लगानी विस्तार गर्न तत्काल ब्याजदर कम गर्ने उपाय अवलम्बन गर्न महासंघले केन्द्रिय बैंकलाई सुझाएको छ ।

“केन्द्रीय बैंकले मुख्यतया नीतिगत दर, बैंक दर, अनिवार्य नगद अनुपात घटाउने लगायत आवश्यक उपाय अवलम्बन गरि ब्याजदर घटाउन पहल गर्नुपर्छ,” महासंघले भनेको छ, “यसैगरि पुराना ऋणीहरुले साँवाब्याज भुक्तानी गर्न नसक्दा बैंकहरुको खराब कर्जा समेत करिब चार प्रतिशत पुगिसकेको हुँदा कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरणको सुविधा दिइनुपर्ने हाम्रो सुुझाव छ ।”

नौ महिना यता लगातार सात प्रतिशतभन्दा बढि मुल्यवृद्धिदर रहँदै आएकाले आम उपभोक्ताको क्रयशक्ति क्रमशः घटिरहेको छ । निजी क्षेत्रले निर्वाध काम गर्न नपाउँदा सरकार र आम उपभोक्ता समेत संगसंगै प्रभावित भैरहेकोले तत्काल सुधारको काम थाल्न महासंघले जोड दिएको छ । यस्तो नभएको खण्डमा अर्थतन्त्रको मन्दी लम्बिदै जानेतर्फ महासंघले सरकार र राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।