नेपालमा लगानी भित्र्याउन सहयोगका लागि अमेरिकी राजदूतसँग उद्योगमन्त्रीको आग्रह


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपालमा लगानी भित्र्याउन अमेरिकी राजदूत डिन आर थम्पसनसँग सहयोग गर्न आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानी लगायत विविध विषयमा भएको कुराकानीमा मन्त्री रिजालले यस्तो आग्रह गरेका हुन् ।

भेटका क्रममा मन्त्री रिजालले नेपालमा लगानी भित्र्याउन राजदुत थम्पसनसँग सहयोगको अपेक्षा रहेको बताएका थिए । लगानीको वातावरण बनाउन नेपाल सरकार सदैब तयार रहेको भन्दै राजदुतलाई सहयोग गर्न उनले आग्रह गरेका हुन् ।

पर्यटन क्षेत्रमा कसरी बढी लगानी भित्र्याउन सकिन्छ भन्ने तर्फ मध्ये नजर गर्न जोड दिदै मन्त्री रिजालले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग प्रति आभार व्यक्त गरेका थिए ।

भेटमा मन्त्री रिजालले नेपालको विकास लगायतका विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सरहानीय रहेको बताएका थिए । अमेरिकाबाट प्राप्त विकास सहायताले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउदै मन्त्री रिजालले आगामी मे मा काठमाडौँमा हुने टिफा काउन्सिलको छैटौ बैठक द्विपक्षीय ब्यापार तथा लगानी प्रवर्दनका लागि फलदायी हुनेमा विश्वास व्यक्त गरेका थिए ।

नेपाल र अमेरिकाबीच वर्षौदेखिको मित्रता रहेको बताउदै मन्त्री रिजालले अमेरिकी राजदूत डिन आर थम्पसनको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ रहने विश्वास ब्यक्त गरेका थिए ।

भेटका क्रममा मन्त्री रिजालले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुदा नेपाल व्यापार प्राथमिकता कार्य्रक्रमलाई निरन्तरता दिन राजदूत थम्पसन मार्फत अमेरिकी सरकारसँग आग्रह गरेका छन् ।

त्यसैगरी सूचना, संचार तथा प्रविधि, उर्जा र कृषि लगायतका क्षेत्रमा अमेरिकाबाट प्रत्यक्ष वैदेशिक लगानी भएको बताउदै मन्त्री रिजालले लगानी बढाउँन र विविधिकरण गर्नको लागि अमेरिकी राजदूत थम्पसनको अधिकतम प्रयास रहने अपेक्षा गरेका थिए ।

भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको आर्थिक वृद्धिमा नीतिगत रुपमा सहयोग गर्ने बताएका थिए । लगानीको वातावरण थप सुद्धिढ गराउन जोड दिदै अमेरिकी राजदूत थम्पसनले नेपालको विकासमा अमेरिकी सरकारको सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।