युनिलिभर नेपालको नाफा ६९ % ले बढ्दा ईपिएस २२० रुपैयाँले बढ्यो

0
Shares

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले चालु आवको तेस्रो त्रैमासमा ३७ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ६९ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीले एक अर्ब ९६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीको व्यापार गत वर्षको यसै अवधिको तुलनामा १९ प्रतिशतले बढेको हो। गत वर्षको यसै अवधिसम्म कम्पनीले १ अर्ब ६४ करोडको व्यापार गरेको थियो।

कम्पनीको यस अवधिको खर्च ९६ करोड ८८ लाख रुपैयाँ नाघेको छ। जुन गतवर्षको भन्दा ५ करोड १३ लाख रुपैयाँ बढी हो। ब्याज भुक्तानीमा पनि ७० लाख रुपैयाँ खर्च भएको छ। कम्पनीको खर्च ९.२३ प्रतिशतले बढेको छ।

कम्पनीको नाफा र व्यापारसँगै खर्चको आकार पनि बढेको छ। महँगी र आपूर्ति प्रणालीमा बारम्बार देखापरिरहने अवरोधले गर्दा कच्चा पदार्थको लागत बढेको कम्पनीको भनाई छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २२० रुपैयाँ ३४ पैसा बढेर ५३९ रुपैयाँ ४१ पैसा पुगेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार १२६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४४.५१ गुणा रहेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अवितरित नाफा ३ अर्ब ७० करोड ७७ लाख रुपैयाँ सञ्चित छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।