संसदमा आफूलाई अर्धनग्न बनाउने सांसद अमरेश कुमार सिंह बिरुद्ध किन पर्यो अख्तियारमा उजुरी ?


प्रतिनिधि सभा बैठकमा आफूतिर ध्यान तान्ने शैलीमा प्रस्तुत हुँदै आएका स्वतन्त्र सांसद अमरेश कुमार सिंहका बिरुद्ध बैशाख २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो । सोही दिन सांसद सिंहले प्रतिनिधि सभामा बोल्न नपाएको भन्दै आफुलाई बैठकस्थलमा नै अर्धनग्न बनाएका थिए ।

संसद बैठकमा लुगा खालेर नाङगो हुँदै गर्दा उनका विरुद्ध आफ्नै जिल्लाका विकास ठाकुरले अकुत सम्पत्ति कसरी आर्जन भएको हो ? सो को अनुसन्धान गरियोस भन्दै अख्तियारमा उजुरी दर्ता गराएका थिए । प्रतिनिधि सभा बैठकमा देखाएको हर्कतको चौतर्फी चर्चा हुँदै गर्दा एकाएक अख्तियारमा दर्ता भएको उजुरीको विषयलाई लिएर उनी उक्त दिन दोहोरो चर्चामा परे ।

अमरेश कुमार यस अघि नेपाली काँग्रेसमा सक्रिय राजनीतिमा थिए । तर, गत मंसिरमा भएको संसदीय निर्वाचनमा कांग्रेस परित्याग गरी अन्य केही मधेशी नेताहरुसँगको सहकार्यमा सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचनमा होमिएका थिए । र नतिजा पनि उनकै पौल्टामा परेको थियो ।

हाल नेपाली कांग्रेसका सर्लाही जिल्लाका सदस्य समेत रहेका विकास ठाकुरले अमरेशले २०६३ सालयताको सक्रिय राजनितिका दौरान आर्जन गरेको सम्पत्तीको स्रोत खोज्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।

२०६३ को संसदीय निर्वाचनमा काँग्रेसबाट चुनाव जितेका अमरेशसँग तत्कालीन समयमा एउटा मोटरसाइकल बाहेक कुनै सम्पत्ती नरहेको र आजका दिनमा ३० करोड मुल्यबराबरको बंगला, २० करोड बराबरको जग्गा, मिटर ब्याजमा लगानी रहेको आरोप सहित अख्तियारमा विकास ठाकुरले उजुरी दिएका हुन् ।

देशका विभिन्न शहरमा करोडौं मुल्य पर्ने घरजग्गा परिवारको अर्को व्यक्तिको नाममा राखेको, काठमाडौंको कालिमाटीमा रहेको तरकारी बजारमा रहेका कवाडीवालालाई अमरेशले मिटर ब्याजमा पैसा लगानी गरेको आरोप उजुरीमा छ । पदीय शक्तिको दुरुपयोग गर्दै चरम आर्थिक भ्रष्टाचार गरेको आरोप ठाकुरले उजुरीमा लगाएका छन् ।

सर्लाहीबाट आर्थिक चलखेल गरेर अमरेशले पटक पटक निर्वाचित भएको र आफ्नो निर्वाचन क्षेत्रको समृद्धिमा कुनै पहल नगरेको, आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य गरेको आरोप ठाकुरले लगाएका छन् ।

‘२०६३ सालबाट एकैपटक नेपाली कांग्रेसको राजनीतिमा उदाउनुभएका सिंहले गरेको आर्थिक फड्को सर्लाही जिल्लाका आम जनता तथा मतदाताका लागि आश्चर्यको विषय बनेको छ । निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो’, ठाकुरले उजुरीमा भनेका छन् ।

संसद बैठकमा पछिल्ला दिनमा अमरेशले अरुको ध्यान आफुतिर तान्ने प्रयास गर्दै आईरहेका छन् । चर्को प्रस्तुतीका लागि सँधै समयमा माग्ने अमरेशले २५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा बोल्न समय माग गरे पनि समय नपाए पछि कपडा खालेर आफुलाई अर्धनग्न बनाएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।