भारत–नेपाल द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउन जरुरी: उद्योगमन्त्री रिजाल


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भारत–नेपाल द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउनु पर्ने बताएका छन् ।

बिहिबार पर्साको बीरगञ्जमा आयोजित ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ लाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रलाई पारेको असरका कारण दुई मुलुकको विगतको इतिहास, सम्बन्ध र व्यापार गर्ने तरिकाहरूको मूल्याङ्कन र अध्ययन गर्न अत्यन्तै आवश्यक रहेको मन्त्री रिजालले बताए । कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रमा परेको नकारात्मक असरको बाबजुद पनि नेपाल भारत बिच भएको कारोबार डिजिटलाइजेशन सकारात्मक रहेको मन्त्री रिजालको भनाई थियो ।

दुई देशबिच विभिन्न क्षेत्रहरूमा सहयोग आदानप्रदान हुँदै आएको बताउँदै मन्त्री रिजालले नेपालमा लगानीको सबैभन्दा ठूलो स्रोत भारत रहेको उल्लेख गरे । दुई देश बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ ले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री रिजालले बिश्वास व्यक्त गरे ।

सम्मेलनले ऊर्जा, पूर्वाधार, दूरसञ्चार, बैंकिङ, वित्तीय सेवा र बीमा, सूचना प्रविधि जस्ता क्षेत्रहरूमा आपसी सहयोगलाई गति दिने मन्त्री रिजालको विश्वास छ । मन्त्री रिजालले नेपालमा व्यापारको प्रक्रियालाई सरलीकरण गर्ने र दुई मुलुकहरूबीच पारस्परिक लाभ र भविष्यमा सहयोग वृद्धि गर्न प्रमुख चुनौतीहरू पहिचान गरी समाधानका उपायहरू निकाल्न सम्मेलन सफल हुने अपेक्षा गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।