उद्योगमन्त्री-चिनियाँ राजदूत भेटः थप सीमा नाका खुलाउन जोड, “व्यापार घाटा कम गर्न सघाउनुस्”


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेट गरेका छन् ।

सोमवार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता, सीमा नाका खुलाउने लगायत विविध विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा मन्त्री रिजालले दुई देशबीचको सम्बन्ध विशेष एवं महत्वपूणर् रहेको भन्दै चीन बिरूद्ध नेपाली भुमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका थिए । मन्त्री रिजालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थिरता तथा राष्ट्रिय स्वाधिनताको सम्मानका लागि चीन अडिग रहेकोप्रति नेपालको उच्च सम्मान रहेको बताएका थिए ।

नेपालको विकासका लागि चीनको सहयोग र सहकार्य प्रति आभार व्यक्त गर्दै मन्त्री रिजालले आगामी दिनमा चीनले अझ बढी विकास सहायता र प्रत्यक्ष बैदेशिक लगानी उपलब्ध गराउने कुरामा आफु विश्वस्त रहेको बताएका थिए ।

चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको बताउदै मन्त्री रिजालले नेपालको कूल वैदेशिक व्यापारको चौध प्रतिशत व्यापार चीनसँग हुने गरेको जानकारी गराएका थिए ।

चीनसँगको व्यापारमा नेपालले ठूलो व्यापार घाटा व्यहोरीरहेको स्पष्ट पार्दै मन्त्री रिजालले उक्त व्यापार घाटा कम गर्नका निमित्त राजदूत चेन सङ्को कार्यकालमा दुई देशबीच सहकार्य हुनेमा बिश्वास व्यक्त गरेका थिए ।

मन्त्री रिजालले चिनियाँ राजदूत चेन सङ्लाई नेपाल र चीन बीचको व्यापार सहजीकरण गर्न दुई देशका बीच रहेको विभिन्न संयन्त्रहरूको स्मरण गराएका थिए । पारवाहन ढुवानी सम्झौताको कार्यन्वयनका लागि स्थापित संयुक्त परामर्श संयन्त्रको बैठक समेत बस्न नसकेको बताउदै मन्त्री रिजालले काठमाडौं र बेइजिङबीच स्थापित उक्त संयन्त्रहरूको बैठक यथाशीघ्र बसी द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धन तथा सहजीकरण गर्न आग्रह गरेका थिए ।

तातोपानी, रसुवा तथा हिल्सा नाका पुनः खुलेर पूणर् रूपमा सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै मन्त्री रिजालले थप नाका पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह गरेका थिए । मन्त्री रिजालले नेचुङ-लिजी, किमाथाङ्का, ओलाङचुङ्गोला लगायतका सिमा नाका समेत खोल्नेतर्फ चिनियाँ राजदूत सङ् को ध्यानाकर्षण गराएका थिए ।

भेटमा चिनियाँ राजदूत सङ्ले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिँदै द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफू पनि विश्वस्त रहेको बताएका थिए । उनले विकास सहायता र प्रत्यक्ष बैदेशिक लगानी उपलब्ध गराउने कुरामा चीन सकारात्मक रहेको प्रतिकृया दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।