मर्जरलाई तिब्रताः सनराइज बैंकले बोलायो साधारण सभा, लक्ष्मीले पनि विशेष साधारण सभा बोलाउँदै


मर्जरमा जाने प्रारम्भिक तथा अन्तिम सम्झौता गरेका सनराइज र लक्ष्मी बैंकले प्रकृयालाई अन्तिम रुप दिन साधारण सभाको तयारी गरेका छन् ।

गत आर्थिक वर्षको साधारण सभा हालसम्म गर्न नसकेको सनराइज बैंकले नियमित प्रस्तावसँगै लक्ष्मी बैंकसँगको मर्जर प्रस्ताव पारित गर्न १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सनराइजले असार ३ गते आइतबारका दिन भाटभटेनीपस्थत अम्रपाली बैंक्वेटमा साधारण सभा बोलाएको हो । भर्चुअल माध्यमबाट समेत सहभागि हुन सकिने उक्त साधारण सभा प्रयोजनका लागि बैंकले जेठ २३ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निणर्य गरेको छ । जेठ २२ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

साधारण सभाले लक्ष्मी बैंकसँग डिडिएका आधारमा १ बराबर १ को अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ । मर्जरसम्बन्धी सबै काम तथा प्रकृया पुरा गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, वित्तीय विबरणहरु पारित गर्ने लगायतका प्रस्ताव पनि साधारण सभाले अनुमोदन गर्ने कार्यतालिका छ ।

उता लक्ष्मी बैंकले पनि असार ३ गते नै विशेष साधारण सभा आह्वान गर्ने तयारी गरेको छ । सनराइजको नियमित साधारण सभा भएका कारण ३५ दिने सूचना निकालेको हो भने लक्ष्मी ले १५ दिन अवधिको म्याद राखेर विशेष साधारण सभा आह्वान गर्ने बैंकका एक सञ्चालकले नोटबजारलाई जानकारी दिए ।

“सञ्चालक समितिको अब बस्ने बैठकले एकै दिन पारेर विशेष साधारण सभा आह्वान गरेर मर्जरको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जानु पर्ने हुन्छ,” ती सञ्चालकले भने ।

लक्ष्मी र सनराइज बैंकले गरे मर्जरको अन्तिम सम्झौता, शाह प्रमुख कार्यकारी बन्ने

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।