राष्ट्र बैंकले सोमबार ३० अर्ब ८७ करोडको ट्रेजरी बिल बोलकबोल गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले जेठ २२ गते सोमबार ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ ।

राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको नयाँ तथा २५ अर्ब ८७ करोड ५० लाख बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । सरकारलाई आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्न लागेको हो । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार जारी हुनेछ ।

बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६ अर्ब ८३ करोड रुपैयाँ गरी कुल ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी असार १९ गते, ९१ दिन अवधिको ट्रेजरी भदौ १९ गते, १८२ दिन अवधिको मंसिर १९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ २२ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १२ अर्ब रुपैयाँ गरी कुल २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

सरकारले जारी गरेको पछिल्लो ट्रेजरी बिल्सको डिस्काउन्ट रेट २८ दिनेको ७.५४ प्रतिशत कायम भएको छ । त्यसैगरी ९१ दिने ट्रेजरी बिल्सका ९.१६, १८२ दिनेको ९.१३ र ३६४ दिने ट्रेजरी बिल्सको ८.८० प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।