नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी कारोबार लागू हुने


नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी कारोबार लागू हुने भएको छ । एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानीलाई सहज बनाउन सम्झौता भएको हो ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीको हैदराबाद हाउसमा एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानबीच उक्त सम्झौता भएको थियो ।

आम नागरिक, विद्यार्थी, तीर्थयात्री र यात्रु (पर्यटक) हरूद्वारा गरिने फण्ड ट्रान्सफर एवम् भुक्तानीलाई सहज बनाउदैं दुई देशबीच हुने क्रस बोर्डर आर्थिक कारोबारहरूलाई थप सहज गर्न उक्त सम्झौता गरिएको छ ।

जसअनुसार प्रारम्भिक चरणमा भारत र नेपालका बैंकहरू बीच इनवार्ड र आउटवार्ड ट्रान्सफरको लागि आवश्यक व्यवस्था मिलाउन भारतको युपीआइ र नेपालको एनपीआइबीच इन्ट्रिग्रेसन गरी हाल उपलब्ध भुक्तानी प्रणाली र विभिन्न च्यानलहरूलाई सबलीकरण गरिने बताइएको छ ।

दुई देश बीचको रियल टाइम भुक्तानी प्रणालीलाई जोडी क्रस बोर्डर भुक्तानी लागू हुने हुँदा यस इन्ट्रिग्रेसनलाई यस क्षेत्रको महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिइएको छ । युपीआई विश्वको सबै भन्दा इनोभेटिभ र एडभान्स भुक्तानी पूर्वाधार मध्ये एक हो । यस इन्ट्रिग्रेसनले नेपालको भुक्तानी प्रणालीमा समेत थप सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उक्त एमओयुको आधारमा एनसीएचएल र एनआइपीएलले प्राविधिक इन्टिग्रेसन, कानुनी तथा अनुपालन सम्बन्धी व्यवस्था र व्यावसायिक पक्ष समेतलाई अन्तिम रूप दिई क्रस बोर्डर भुक्तानीका विभिन्न कारोबारलाई क्रमिक रूपमा लागू गर्दै लग्नेछन् । साथै, कारोबारको प्रकार र आवश्यकतानुसार कारोबारको सीमा, शुल्क तथा अन्य जोखिम नियन्त्रणको व्यवस्था केन्द्रीय बैंकको आवश्यक सहमति तथा स्वीकृति अनुसार लागु गरिनेछ ।

एनआईपीएल, नेशनल पेमेन्ट कर्पोरेशनअफ इन्डिया एनपीसीआई को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले नवीनतम प्रविधिको प्रयोग गरी भारतमा भुक्तानी कारोबारलाई रूपान्तरण गर्दै आएको छ । भारतीय रिजर्व बैंक आरबीआई र भारतीय बैंक संघ आईबीए को पहलमा स्थापना भएको एनपीसीआइ भारतमा रिटेल भुक्तानी र सेटलमेन्ट प्रणालीहरू सञ्चालन गर्ने छाता सङ्गठन हो ।

यसले भारतमा सबल डिजिटल भुक्तानी र सेटलमेन्ट पूर्वाधार सिर्जना गर्न कार्य गर्दै आइरहेको छ । त्यसैगरी, एनसीएचएल मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको नेतृत्वमा नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरूको सहभागितामा स्थापना भएको कम्पनी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।