ट्वीटरलाई टक्कर दिन नयाँ एपको विकास गर्दै मार्क जुकरबर्ग

0
Shares

सामाजिक सञ्जाल ट्वीटरलाई टक्कर दिन मार्क जुकरबर्गको कम्पनी मेटाले ट्वीटरकै ढाँचामा नयाँ एपको विकास गर्ने भएको छ ।

मेटाका कर्मचारीहरुको गोप्य च्याट बाहिरिएसँगै मेटाले ट्वीटरकै शैलीमा नयाँ एपको विकास गरिरहेको तथ्य खुलेको हो । कर्मचारीहरुबीचको च्याटको स्क्रीनसटलाई लिएर यत्रतत्र चर्चा भएपछि मेटाका प्रमुख उत्पादन अधिकृत क्रिस कक्सले आगामी समयमा मेटाले ट्वीटर शैलीको एप लन्च गर्ने तयारी गरिरहेको बताएका छन् ।

मेटाले विकास गरिरहेको नयाँ एपलाई हाल पी९२ भनेर नामाकरण गरिएको छ । जुन महिनाको अन्त्यसम्ममा मेटाले पी९२ एप रिलिज गर्ने प्रारम्भिक अनुमान गरिएको छ । पी९२ का प्रयोगकर्ताहरुले प्रत्यक्ष रुपमा आफूले इन्स्टाग्राममा फलो गरेका अकाउन्टहरु फलो गर्न सक्नेछन् । यस्तै मेटाभर्स भन्दा बाहिरका एप जस्तै मास्टोटन लगायतका एपहरुबाट समेत एसेस गर्न सक्नेछन् ।

ट्वीटर एक टेक्स्ट सेयरिङ प्लेटफर्म हो । ट्वीटरबाट नै प्रभावित भई मेटाले उक्त प्लेटफर्मको विकास गरेको मेटाका कर्मचारीहरुको धारणा रहेको छ ।

पछिल्लो समयमा ट्वीटरले अवलम्बन गरेको नयाँ नीतिका कारण ट्वीटरका प्रयोगकर्ताहरुको सङ्ख्या घट्दै गएको छ । यही मौकालाई अवसर मान्दै मेटाले ट्वीटरकै ढाँचामा नयाँ एप निर्माण गरेको हो।

मेटाले अरु एपहरुबाट प्रभावित भई विभिन्न फिचरहरु लन्च गर्ने गरेको जनाएको छ । फेसबूक र इन्स्टाग्राममा रहेको स्टोरी सेयरिङ फिचर मेटाले स्नापच्याटबाट प्रभावित भई सुरु गरेको थियो । यस्तै टिकटकबाट प्रभावित भई मेटाले फेसबूक र इन्स्टाग्राममा रिल सेयरिङ फिचर समेत थपेको छ ।

हाल ट्वीटरले प्रदान गर्ने सुविधा र सुरक्षाका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको समयमा मेटाले ट्वीटर जस्तै टेक्स्ट सेयरिङ प्लेटफर्म विकास गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।