मकवानपुरमा ५४ लाखको सुनसहित एक पक्राउ


मकवानपुर प्रहरीले ५४ लाख रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौँडा आउँदै गरेको प्रदेश २–०३–००१ ख ०१५९ नंम्बरको बसमा उक्त सुनसहित युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वामदेव गौतमले बताए ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको गौतमले बताए । साहले जुत्ताको नोकभित्र पाँच सय ६१ दशमलव ३० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा समातिएको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।