इप्पानमा सदस्य बाहेकका सबै उम्मेदवार निर्विरोध, अदालतले दिएन अन्तरिम आदेश


स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को निर्वाचनमा नयाँ मोड आएको छ । किरण मल्ल प्यानलका सबै उम्मेदवारहरुको दाबी बिरोध विधान अनुरुप नभएको भन्दै निर्वाचन समितिले सबै उम्मेदवारहरुको मनोनयन बदर गरेको छ । योसँगै अध्यक्षदेखि कोषाध्यक्षसम्मका सबै पदहरुमा गणेश कार्की प्यानलका उम्मेदवारहरु निर्बिरोेध भएका हुन् ।

निर्वाचन समितिका अनुसार अदालतमा परेको मुद्धामा भएको निणर्यको औपचारिक जानकारी नआएको र ३२ गते बिहीबार निर्वाचन प्रकृया पुरा गर्नु पर्ने भएकाले समितिले दाबी बिरोधलाई सदर गर्ने निणर्य गरेको हो । प्रमुख निर्वाचन अधिकृत चिरञ्जिवि खतिवडाले सदस्य पदमा १४ जनाको उम्मेदवारी परेको र ७ जनाका लागि निर्वाचन हुने तर बाँकी सबै पदमा निर्बिरोध घोषणा गरिएको नोटबजारलाई जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी निर्बिरोध भएको प्रमुख निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए । वरिष्ठ उपाध्यक्षमा सुर्यप्रसाद अधिकारीको पनि उम्मेदवारी परेकोमा निर्वाचन समितिले उनको मनोनयन बदर गरेको हो ।

५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्बिरोध निर्वाचित भएका छन् । उपाध्यक्षका उम्मेदवार वीरेन्द्र मल्ल र दिपेन्द्र बमको योग्यता नपुगेका कारण मनोनयन बदर गरिएको खतिवडाले जानकारी दिए ।

१ जना महासचिवका लागि दुई जनाको उम्मेदवारी परेकोमा एक जनाको योग्यता नपुगेपछि बलराम खतिवडा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा विनोद देवकोटाको पनि उम्मेदवारी परेको थियो । उपमहासचिवमा भने प्रकाशचन्द्र दुलालको एकल उम्मेदवारी परेपछि यस अघि नै निर्बिरोध भईसकेका छन् ।

त्यस्तै ५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेकोमा १ जनाको योग्यता नपुगेपछि यसमा पनि निर्विरोध निर्वाचित भएका छन् । सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक निर्वाचित भएका छन् । सचिवमा उम्मेदवारी दिएका नारायण कँडेलको भने योग्यता नपुगेको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेपछि उनी पनि यस अघि नै निर्वाचित भइसकेका छन् ।

३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भइसकेका छन् ।

७ जना खुल्ला सदस्यका लागि भने १४ जना चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुको निर्वाचन बिहीबार गरिने पनि प्रमुख निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए ।

अध्यक्षका प्रत्यासी किरण मल्ले आफुले उम्मेदवारी दिन नपाएको भन्दै अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेको थिए । उक्त रिट उपर न्यायाधीश अमृत बहादुर बस्नेतको एकल इजलाशले सुनुवाई गर्दै अन्तरिम आदेश दिन नमिल्ने भन्दै थप प्रकृया कानुन बमोजिम गर्न आदेश दिएको छ । योसँगै इप्पानको निर्वाचन बिहीबार सम्पन्न गराउन निर्वाचन समितिलाई बाटो खुलेको छ ।

इप्पानको २१ औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन जेठ ३२ गते हायात होटलमा हुँदैछ । साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।