लुम्बिनीका उद्योगहरुको औसत क्षमता उपयोग ४२.३३ प्रतिशत, सिमेन्ट उत्पादन आधा घट्यो


चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशमा सञ्चालित उद्योगहरुको क्षमता उपयोगमा कमी आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४९.२२ प्रतिशत क्षमता उपयोग गरेको उद्योगहरुको चालु आवमा क्षमता उपयोग घटेर ४२.३३ प्रतिशतमा झरेको हो ।

चालु आवको पुसम्मा ड्राई सिरप, बिजुलीका तार तथा केबुल, कंक्रीट, चामल, पेय पदार्थ, जि.आई पाईप, औषधिजन्य उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा कमी आएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । अध्ययनमा समेटिएका उद्योगहरु मध्ये सबैभन्दा बढी प्लाष्टिकजन्य उद्योगले ८९.६४ प्रतिशत र सबैभन्दा कम औषधि उत्पादन गर्ने उद्योगले ३.९१ प्रतिशत क्षमता उपयोग गरेका छन् । यसैगरी औषतभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरुमा कागज, ट्याबलेट, आल्मुनियम, रोजिन र पशुदाना रहेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आवको ६ महिनामा रोजिन उत्पादन गत वर्षको सोही अवधिकोे तुलनामा ३०.६६ प्रतिशतले वृद्धि भएको छ । कच्चा पदार्थको शुलभ उपलब्धता र भारत लगायतका अन्य देशहरुमा माग उच्च रहेका कारण रोजिन उत्पादनमा वृद्धि देखिएको हो ।

विदेशमा कागजको मुल्य बढेर आयात कम हुँदा नेपाली कागजको माग बढेपछि कागज उत्पादन ३०.५९ प्रतिशतले बढेको छ । बजारको मागमा कमी आउनु, विद्युत आपूर्तिमा समस्या र अन्तराष्ट्रिय बजारमा कोईला तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण समीक्षा अवधिमा सिमेन्ट उत्पादन गत वर्षको सोही अवधिकोे तुलनामा ५४.०९ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रमुख औद्योगिक उत्पादनहरुमध्ये तरल उत्पादन गत वर्षको सोही अवधिकोे तुलनामा ८.१८ प्रतिशतले वृद्धि भएपनि आल्मुनियम उत्पादन ६५.४७ प्रतिशत, चामल उत्पादन ५८.७९ प्रतिशत, कंक्रीट उत्पादन ५२.०९ प्रतिशतले घटेको छ ।

केन्द्रीय बैंकको अध्ययन अनुसार बिजुलीका तार र केबुल ४८.६४ प्रतिशत, गहुँको पिठो ३६.३१ प्रतिशत, ट्याब्लेट उत्पादन २९.३९ प्रतिशतले घटेको छ । अध्ययन अनुसार चाउचाउको उत्पादन १६.५९ प्रतिशत, ड्राइ सिरप उत्पादन १९.४९ प्रतिशत, मदिरा उत्पादन १०.९५ प्रतिशत, क्याप्सुल उत्पादन १०.३३ प्रतिशत र ओइन्टमेन्टको उत्पादनमा समेत ९.८८ प्रतिशतले ह्रास आएको अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको १४.२ प्रतिशत हिस्सा हुने अनुमान छ । गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको १४.१ प्रतिशत हिस्सा रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा यस प्रदेशको आर्थिक वृद्धि २.०६ प्रतिशत रहने अनुमान रहेको छ भने गत आर्थिक वर्षमा ५.०३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा देशको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा यस प्रदेशको हिस्सा क्रमश: १७.५ प्रतिशत, १५.५ प्रतिशत र १२.६ प्रतिशत रहने अनुमान छ । यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: २९.८ प्रतिशत, १४.७ प्रतिशत र ५५.५ प्रतिशत रहने अनुमान छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट संकलित कुल निक्षेपमा लुम्बिनी प्रदेशको योगदान ८.४१ प्रतिशत रहेको छ । यो प्रदेश निक्षेप संकलनमा दोस्रो ठूलो र कर्जा प्रवाहमा ११.२८ प्रतिशत हिस्सासहित तेस्रा ठूलो प्रदेशको रुपमा रहेको छ ।

चालु आवको पुससम्ममा फलफूल तथा तरकारी उत्पादनमा वृद्धि हुनुका साथै भारत र तेस्रो मुलुकबाट पर्यटक आगमन तथा होटल व्यवसायमा सामान्य सुधार भएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा १.१३ प्रतिशतले वृद्धि भई ४ खर्ब ३२ अर्व ३० करोड ३७ लाख रुपैयाँ पुगेको छ । यस प्रदेशको कुल निक्षेपमा रुपन्देही जिल्लाको सबैभन्दा धेरै ४३.९८ प्रतिशत हिस्सा रहेको छ भने रुकुमपूर्व जिल्लाकोे सबैभन्दा कम ०.२७ प्रतिशत हिस्सा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिकोे तुलनामा ०.३५ प्रतिशतले वृद्धि भई ५ खर्ब ५० अर्व ६ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यस्तो कर्जा २०७९ असारको तुलनामा २.९२ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा/निक्षेप अनुपात १२७.२४ प्रतिशत रहेको छ । चालु आवको ६ महिनामा कुल कर्जामा रुपन्देही जिल्लाको सबैभन्दा धेरै ४८.४८ प्रतिशत हिस्सा रहेको छ भने रुकुमपूर्व जिल्लाकोे सबैभन्दा कम ०.१४ प्रतिशत हिस्सा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा ऋणीहरुको सङख्या गत वर्षको सोही अवधिकोे तुलनामा ७.६६ प्रतिशतले घटेको छ । चालु आवको ६ महिनासम्ममा ऋणीको संख्या २ लाख ९१ हजार ४ सय २० पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।