कर्णाली सरकारद्वारा ३३ अर्ब ३७ करोड ९७ लाख बजेट प्रस्तुत


कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपैयाँ बजेट प्रस्तुत भएको छ ।

कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले चालुतर्फ ९ अर्ब २० लाख २४ हजार रुपैयाँ (२६.९७ प्रतिशत), पूँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार रुपैयाँ (५८.६५ प्रतिशत) र स्थानीय तहको वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार रुपैयाँ (१४.३८ प्रतिशत) विनियोजन गरिएको बताए ।

त्यस्तै, आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार रुपैयाँ र चालु आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित ७ अर्ब ४१ करोड ६ लाख ५ हजार रुपैयाँ परिचालन गरिएको उनको भनाइ थियो ।

उनका अनुसार सङ्घीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट ८ अर्ब ८४ करोड तीन लाख र वित्तीय समानीकरणबाट प्राप्त हुन आएको १० अर्ब १६ करोड ४१ लाख रुपैयाँ एवं ससर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख रुपैयाँ परिचालन गरिनेछ । सङ्घीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानतर्फ ७६ करोड १६ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ६० करोड ७९ लाख रुपैयाँ परिचालन गरिनेछ ।

सङ्घीय सरबारबाट ससर्त अनुदानमा प्राप्त हुने वैदेशिक सहायताबाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि १ करोड ८६ लाख ९० हजार रुपैयाँ स्रोत परिचालन हुनेछ । विनियोजित बजेटमा कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, यातायात र सहरी विकासका लागि १० अर्ब ११ करोड ४२ लाख रुपैयाँ (३० प्रतिशत) बजेट विनियोजन गरेको छ ।

‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारालाई अपेक्षित लक्ष्यमा पुर्याउन कर्णाली समृद्धिको अभियान अगाडि बढाउन प्रदेश सरकारले बहुवर्षीय र क्रमागत आयोजना सम्पन्न गर्ने र न्यूनतम १० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।