सरकारले ट्रेजरी बिलमार्फत ३० अर्ब ८६ करोड आन्तरिक ऋण उठाउँदै

0
Shares

सरकारले ट्रेजरी बिल बिक्री गरेर ३० अर्ब ८६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

जसका लागि राष्ट्र बैंकले २३ अर्ब ८६ करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिलको नवीकरण तथा ७ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ।ट्रेजरी बिलका लागि सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल हुने तथा मंगलबार जारी हुने राष्ट्र बैंकले जनाएको छ।

यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सोही क्रममा यस पटक ट्रेजरी बिलमार्फत पौने ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो ।

पछिल्लो पटकको बोलकबोलमा ८.१४ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ८.४३ प्रतिशत र सबैभन्दा कम ६.०९ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ ।

उक्त लक्ष्यलाई तीन चरणमा गरेर त्रैमासिक रुपमा आन्तरिक ऋण उठाइरहेको छ । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासदेखि मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । सोही योजना अनुसार अहिले विभिन्न औजारहरुमार्फत आन्तरिक ऋण उठाइरहेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।