बूढीगण्डकी जलविद्युत् आयोजना चाँडो शिलान्यास गर्न आग्रह


नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास चाँडो गर्न आग्रह गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले भारत र बङ्गलादेशलाई विद्युत् बेच्न र भारतसँग समग्र व्यापार घाटा घटाउन यस्ता ठूला आयोजनाका कामलाई गति दिनुपर्नेमा जोड दिएका छन् ।

२ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने सो आयोजना धादिङ र गोरखाको सिमानामा छ । कूल एक हजार २०० मेगावाट क्षमताको उत्पादन हुने सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सकिएको छ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पाण्डेले मुलुक विद्युत् उत्पादनको महत्वपूर्ण चरणमा पुगेको अवस्थामा उत्पादन, वितरण र बिक्रीको समग्र योजना बनाउन पनि माग गरे । उनले ठूला सिँचाइ आयोजना सफल हुन समय लागेकाले साना सिँचाइ आयोजनालाई पनि महत्व दिन र मधेसमा नदी कटानलाई व्यवस्थित गर्न पनि आग्रह गरेका छन् । -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।