डिसहोमले सय रुपैयाँमा नै आईपीओ जारी गर्ने, प्रतिस्पर्धी बढ्दा खस्कियो कारोबार

0
Shares

डिस मिडिया नेटवर्कले आईपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा पुन: आवेदन दिएको छ ।

कम्पनीले कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको कुल १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ बिक्री गर्ने अनुमति मागेको छ ।

बोर्डले अनुमति दिएमा कम्पनीले आईपीओ बिक्री गरेर १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ संकलन गर्नेछ । डिस मिडियाको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

टेलिभिजन तथा इन्टरनेट सेवा प्रदान गर्दै आएको डिस मिडिया नेटवर्कको आम्दानीमा निरन्तर गिरावट आएको छ । इन्टरनेट सेवा प्रदायकहरुले टेलिभिजन सेवा समेत प्रदान गरेपछि प्रतिस्पर्धा बढ्दै जाँदा कम्पनीको आम्दानी घट्दै गएको हो ।

सन् २०२० मा ५ अर्ब १३ करोड ३० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले सन् २०२२ मा ४ अर्ब ८३ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ९२ करोड रहेको थियो । सन् २०२० को तुलनामा कम्पनीको आम्दानी ६ प्रतिशतले घटेको हो ।

पछिल्लो समयमा इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा प्रदान गर्दा डिसहोमका सब्सक्राइबर घट्दै गएका छन् । साथै सबैको हातहातमा मोबाइल फोन र इन्टरनेटको पहुँच बढेसँगै मानिसहरुले टेलिभिजन हेरेर बिताउने समय सामाजिक सञ्जाल हेरेर बिताउन लागेका छन् । जसकारण वार्षिक रुपमा २९ प्रतिशत सब्सक्राइबर्स घटेका हुन् ।

सन् २०१० मा स्थापना भएको डिस मिडिया नेटवर्कले स्थापनाको समयदेखि डाइरेक्ट–टु–होम (डिटिएच) सेवा प्रदान गर्दै आएको छ । हाल नेपालभर कम्पनीका ७५ डिलर संस्था, चार हजार ५ सय बढी सब–डिलर, १४ सर्भिस सेन्टर, १५ सय बढी फ्रेन्चाइ, १० हजार बढी पोइन्ट अफ सेल्स र २२ लोकल केवल अपरेटर रहेका छन् ।

हाल डिस मिडिया नेटवर्कले २०७ च्यानल उपलब्ध गराएको छ । जसअन्तर्गत ६० च्यानल एचडी च्यानल रहेका छन् भने १४७ एसडी च्यानलहरु रहेका छन् । साथै कम्पनीका आफ्नै १५ वटा च्यानल रहेका छन् । जुन अरु टेलिभिजन नेटवर्कमा प्रसारण हुँदैन ।

कम्पनीमा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन सहित आइएमई ग्रुपका हेमराज ढकाल निर्देशक रहेका छन् । डिस मिडिया नेटवर्कको डे–टु–डे अप्रेशन कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यको नेतृत्वमा रहेको छ ।

कम्पनीले ३ अर्ब ९८ करोड ४५ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयरनेपालले १ अर्ब ४३ करोड ४५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स रेटिङ गरी वाच वीथ नेगेटिभ इम्प्लीकेशनको सूचीमा राखेको छ । यस्तै २ अर्ब ५५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ ।

कम्पनीको रेटिङ ट्रिपल बी रहेको छ भने केयरनेपालले वाच वीथ नेगेटिभ इम्प्लीकेशनको सूचीमा राखेको छ । यसअघि कम्पनीको रेटिङ ट्रिपल बी माइन्स रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।