नवलपरासीमा पशुपालक कृषकलाई कृषि उपकरण अनुदान

0
Shares

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० कार्यालयले पशुपालक कृषकलाई घाँस काट्ने मेसिन चापाकटर र पशुको गोठमा ओछ्याउने काउम्याट वितरण गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा वडा कार्यालयले पशुपालनका लागि छुट्याएको बजेटबाट व्यावसायिक पशुपालक कृषकलाई कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष देवीदत्त कँडेलले बताए । वडामा पशुपालन प्रवद्र्धनका लागि छुट्याइएको ८ लाख रुपैयाँ बजेटबाट कृषकलाई अनुदानमा उपकरण वितरण गरिएको उनको भनाइ छ ।

कृषकको केही लगानी र बाँकी वडाको लगानीमा कृषि उपकरण वितरण गर्दा किसानले अपनत्व ग्रहण गर्ने र सामानको सुरक्षा गर्ने भएका कारण उनीरुको पनि लगानी मिसाइएको वडाध्यक्ष कँडेलले बताए । वडा कार्यालयसँगको सहकार्यमा १८ व्यावसायिक कृषकका लागि चापाकटर मेसिन तथा ४५ कृषकका लागि काउम्याट वितरण गरिएको कृषि तथा पशुपालन उपभोक्ता समितिका अध्यक्ष होमनाथ कँडेलले जनाए ।

कृषकलाई वितरण गएिको प्रतिचापाकटरको भ्याटसहित मूल्य ३२ हजार रुपैयाँ रहेकामा कृषकसँग १३ हजार रुपैयाँ लिएर बाँकी वडा कार्यालयले अनुदान दिएको कँडेलको भनाइ छ । त्यस्तै प्रतिकाउम्याटको बजार मूल्य ५ हजार ७०० रुपैयाँ रहेको छ ।

एक कृषकलाई तीनका दरले काउम्याट वितरण गरिएको थियो । कृषकसँग एउटा काउम्याटको रकम लिएर उनीहरुलाई तीनवटा काउम्याट प्रदान गरिएको उनले बताए । कृषकलाई प्रदान गरिएको काउम्याटको लम्बाइ छ फिट तथा चौडाइ चार फिट रहेको छ । वडाले गत वर्ष पनि यसरी नै कृषकलाई चापाकटर मेसिन र काउम्याट वितरण गरेको थियो ।

गत वर्ष अनुदानमा सामग्री नपाएका कृषकलाई यसवर्ष वितरण गरिएको उल्लेख गर्दै वडाध्यक्ष कँडेलले यस वर्ष पनि कृषि उपकरण नपाउने कृषकका लागि आगामी वर्षको बजेटबाट वितरण गरिने बताए । वडा नं १० पशुपालनका लागि पकेट क्षेत्र हो । यहाँका जनताको मुख्य पेसा नै पशुपालन रहेको छ । कृषकलाई दुग्ध उत्पादनमा प्रोत्साहन गरी आर्थिक आयआर्जनसँग जोड्नका लागि वडाले पशुपालक कृषकलाई आवश्यक सामग्री उपलब्ध गराएको वडाध्यक्ष कँडेलले जनाए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।