आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आजदेखि सर्वसाधारणले आवेदन दिन पाउने


आईएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आज बिहीबारदेखि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

बीमा क्षेत्रमै पहिलो पटक आईएमई लाइफले प्रिमियममा आइपीओ निष्कासन गरेको हो । इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्काशन गरेको हो ।

इन्स्योरेन्सले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमा १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

त्यसैगरी, निष्काशन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले कम्पनीको आइपीओमा आज असार २१ गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि श्रावण ४ गतेसम्म लम्बिनेछ । आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत भएको छ । आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।