ट्रेजरीको डिस्काउन्ट रेट २ वर्ष यताकै न्यून, अल्पकालिन लगानीमा बैंकहरुको प्रतिस्पर्धा


बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सुधार आएसँगै वित्तिय प्रणालीको अल्पकालिन ब्याजहरु उच्च दरमा घट्न थालेका छन् । निक्षेप थपिएको भएपनि बैंक वित्तीय संस्थाबाट कर्जा लगानी नहुँदा अल्पकालिन दरहरु घटेका हुन् ।

अल्पकालिन दरहरुमा आएको गिरवाटले बैंक वित्तीय संस्थाका ऋणी र बचतकर्तालाई लाभ नभए पनि सरकारलाई भने फाइदा पुगेको छ । अल्पकालिन दरहरुमा आएको उतारचढावले निक्षेप तथा कर्जाको ब्याजदरमा पनि प्रभाव पार्छ । पछिल्लो समयमा अन्तर बैंक दर, डिस्काउन्ट रेट, रिपो रेट लगायतका अल्पकालिन दरहरुमा निरन्तर गिरावट आएको छ । तर, अल्पकालिन ब्याजदरको उतारचढावको फाइदा लिन ऋणी तथा बचतकर्ताले केही समय कुर्नु पर्ने भएपनि सरकारलाई भने तत्कालै लाभ हुन्छ ।

पछिल्लो समयमा अल्पकालिन ब्याजदरमा आएको गिरावटले सरकारको आन्तरिक ऋणको लागत घटाएको छ । आजभन्दा करिब ११ महिना अघि ११ प्रतिशत भन्दा धेरैमा आन्तरिक ऋण लिएको सरकारले सोमबार भने ३ प्रतिशत मात्र तिर्नु परेको अवस्था छ ।

सरकारले सोमबार निष्कासन गरेको ट्रेजरीको डिस्काउन्ट रेट विगत २ वर्ष यताकै न्यून कायम भएको छ । सोमबार २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.०२३० प्रतिशत कायम भएको छ । यो औसत दर २०७८ साउन ५ गते यताकै थोरै हो । २०७८ साउन ५ गते ट्रेजरी औसत डिस्काउन्ट रेट ०.१६५१ प्रतिशत थियो । त्यसका साथै गत साउन १० गते ११.३४१८ प्रतिशत औसत डिस्काउन्ट रहेकोमा २०८० असार २५ गतेसम्म करिब ८ प्रतिशत विन्दुले घटेर ३.०२३० अंकमा झरेको हो ।

पछिल्लो समयमा सकारी खर्च बढ्ने तथा रेमिट्यान्स आप्रवाहमा आएको वृद्धिले बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सुधार आएको छ । बैंकहरुमा निक्षेप बढेको भएपनि आर्थिक गतिविधिमा आएको सुस्तताका कारण कर्जाको माग नभएपछि बैंकहरु लागि अल्पकालिन लगानीका औजारहरुमा केन्द्रीय भएका छन् । त्यसले रिभार्स रिपोे, अन्तर बैंक तथा डिस्काउन्ट रेट घट्न मद्दत गरेको हो । पछिल्लो समयमा रिभर्स रिपो रेट ४ प्रतिशतको हाराहारीमा छ भने अन्तर बैंक दर २.४६ प्रतिशतमा झरेको छ ।

सोमबार २८ दिनेको मात्र नभई सबै प्रकारका ट्रेजरीको डिस्काउन्ट रेट घटेको छ । सरकारले पुरानो ऋणको साँवा तिर्न नसकेपछि सोमबार २७ अर्ब ६० करोड रुपैयाँ बरावरको पुरानो ट्रेजरीलाई नविकरण गरेको छ । सोमबार सबै प्रकारका ट्रेजरीमा ४ गुणा भन्दा धेरैको आवेदन परेको राष्ट्र बैंकले जनाएको छ ।

सोमबार नवीकरण भएको ५ अर्ब बरावरको २८ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले न्यूनतम २.४९०४ र अधिकतम ३.३००० प्रतिशत माग गरेका छन् । यसको औसत डिस्काउन्ट रेट ३.०२३० कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी सोमबारको ८ अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरीको डिस्काउन्ट रेट पनि करिब ५ प्रतिशतको हाराहारीमा आएको छ । उक्त ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले अधिकतम ५.७००१ र न्यूनतम ४.९८०० प्रतिशत माग गरेको केन्द्रीय बैंकले जनाएको छ । यसको औसत डिस्काउन्ट रेट ५.२५८२ प्रतिशत कायम भएको छ । यो औसत डिस्काउन्ट रेट असार १९ गतेको भन्दा करिब एक प्रतिशत विन्दुले घटेको हो । असार १९ गते ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ६.०५६७ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी केन्द्रीय बैंकले सकारको आन्तरिक ऋणका लागि निष्कासन गरेको ६ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले अधिकतम ६.०९९९ र न्यूनतम ५.१००० प्रतिशत माग गरेका थिए । यसको औसत डिस्काउन्ट रेट ५.६२१५ प्रतिशत कायम भएको छ । यो असार १९ गतेको तुलनामा एक प्रतिशत विन्दुले कम हो । असार १० गते १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ६.७१३० प्रतिशत थियो ।

सोमबारको ८ अर्ब ६० करोड रुपैयाँ बरावरको ३६४ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले अधिकतम ६.७८०० र न्यूनतम ५.५००० प्रतिशत डिसकाउन्ट रेट माग गरेका छन् । यसको औसत रेट ६.३४७८ प्रतिशत कायम भएको छ । यसअघि असार १९ गते निष्कासन भएको सोही अवधिको ट्रेजरीको औसत डिसकाउन्ट रेट भन्दा यो कम हो । असार १९ गते यस्तो ट्रेजरीको औसत डिस्काउन्ट रेट ७.०४५४ प्रतिशत कायम भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।