हाथवे इन्भेष्टमेन्टले साउन ४ देखि प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ जारी गर्ने


हाथवे इन्भेष्टमेन्ट नेपालले साउन ४ गतेदेखि प्रतिकित्ता ५० रुपैयाँ दरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो ।

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ रहरको २ लाख ९२ हजार ५०० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

त्यसैगरी, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

हाथवे इन्भेष्टमेन्ट नेपालको रजिष्टार्ड कार्यालय काठमाण्डौं महानगरपालिका २६ लौनचौर स्थित हाइवे कम्पेक्समा रहेको छ । हाथवे इन्भेष्टमेन्टले नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ।

सार्वजनिक निष्काशन मार्फत संकलित पूँजीको अधिकतम सदुपयोग गरी आफ्नो लगानी विस्तार तथा व्यवसायको क्षमता बढाउनको लागि आवश्यक पर्ने पूँजीको ब्यवस्था गर्ने छ । आइपीओ निष्काशन गरी बाँडफाँड भएपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड पुग्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।