राष्ट्र बैंकले ४० अर्ब खिच्दा पनि अधिक तरलता कायमै, रिभर्स रिपो रेट झनै घट्यो


राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ४० अर्ब रुपैयाँ प्रशोचन गर्दा पनि अधिक तरलता कायमै छ । प्रणालीमा १४६ अर्ब निक्षेप थपिएकोमा केन्द्रीय बैंकले ४० अर्ब मात्र खिचेपछि अधिकत तरलताको समस्या कायमै देखिएको हो ।

केन्द्रीय बैंकले १४ दिन अवधिका लागि मंगलबार २० र बुधबार २० गरी ४० अर्बको रिभर्स रिपो जारी गरीसकेको अवस्था छ । तर, पनि रिभर्स रिपोका लागि बैंक वित्तीय संस्थाको प्रतिस्पर्धाले अझै पनि अधिक तरलता रहेको स्पष्ट हुनछ ।

बुधबारको २० अर्ब रिभर्स रिपोमा बैंक वित्तीय संस्थाले ४० अर्बको माग गर्दै आवेदन गरेका छन । त्यसैगरी अधिक प्रतिस्पर्धा हुँदा रिभर्स रिपो रेट पनि घटेको छ ।

बुधबारको रिभर्स रिपोको औसत रेट २.३७८७ प्रतिशत कायम भएको छ । मंगलबार यस्तो रेट २.५४०९ प्रतिशत रहेको थियो । मंगलबारको तुलनामा बुधबार रिभर्स रिपोको माग गर्दै परेको आवेदन भने केही कम हो । बुधबारको रिभर्स रिपोका लागि बैंक वित्तीय संस्थाले अधिकतम २.७४०० र न्यूनतम २ प्रतिशत माग गरेका छन् ।

वित्तीय प्रणालीमा अधिक तरलता भए पछि रिभर्स रिपो खरिदका लागि उच्च प्रतिस्पर्धा भएको हो । रिभर्स रिपो रेट बढेको खण्डमा तरलताको अवस्था कसिलो रहेको र धेरै प्रतिफलका लागि बैंक वित्तीय संस्थाले लगानी गर्न तयार भएको बुझिन्छ ।

धेरै तरलता भएको अवस्थामा सस्तो दरमा पनि रिभर्स रिपोमा लगानी गर्ने प्रतिस्पर्धा हुने भएकाले रेट झनै घट्न पुग्छ । केन्द्रीय बैंकले रिभर्स रिपोमा थोरै रेट माग गर्नेलाई प्राथमिकतामा राखी खरिद गर्ने गर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।