कैद र जरिवाना फैसला भएका दुई हजार व्यक्ति पक्राउ

0
Shares

जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न मितिमा अदालतबाट कैद र जरिवाना भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवना फैसला सुनाएपछि फरार रहेका एक हजार ९९५ व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका एक हजार नौ सय ९५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए ।

पक्राउ परेकालाई अदालतले एकसय ७६ वर्ष सात महिना ३० दिन कैद असुल गरेको छ । अदालतले पक्राउ परेका उनीहरुसँग १२ करोड ८७ लाख ९३ हजार १३८ रुपैयाँ जरिवना असुल गरेको प्रवक्ता रिजालले बताए । यस्तै, विभिन्न मितिमा अदालतबाट कैद र जरिवना ठहर भएका २३ हजार ५९० व्यक्ति अझै फरार रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

आव २०७९/८० मा काठमाडौँ प्रहरीमा मोबाइल हराएका १८ हजार ११२ निवेदन परेको छ । जसमध्ये ११ हजार १४६ चोरी, पाँच हजार ८२५ हराएको र एक हजार १४३ पाकेटमारी भएका छन् । हराएका मोबाइलमध्ये एक हजार ६५० मोबाइल फेला परेको प्रवक्ता रिजालले बताए ।

काठमाडौँ प्रहरीमा आव २०७९/८० मा विभिन्न शीर्षकमा दुई हजार १६३ निवेदन दर्ता भएका छन् । दर्ता भएका निवेदनमध्ये सवारीसम्बन्धी ११६, रकम ठगी ९९७, वैदेशिक रोजगारी ठगी ५४०, जग्गासम्बन्धी विवाद ४०, झैझगडा कुटपिट ६३ उजुरी परेका छन् ।

यसैगरी, घरेलु हिंसा १५, सहकारीसम्बन्धी ठगी ५०, अनलाइन ठगी ४०, चेकसम्बन्धी ठगी २७६, सरसामान चोरी २१ र मोटरसाइकल चोरीका तीन निवेदन परेको छ । जम्मा परेका निवेदनमध्ये छ सय २१ उजुरी फस्यौट भएको र बाँकी एक हजार ४९५ उजुरी फछ्र्योट गर्न बाँकी रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।