घरजग्गा र अटोका साना कर्जामा जोखिम भार घट्यो, सेयर कर्जाको ५० लाखसम्मको शतप्रतिशत

0
Shares

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट र हायर पर्चेज कर्जामा सामान्य खुकुलो नीति लिएको छ । केन्द्रीय बैंकले आर्थिक गतिविधि विस्तार गर्ने तर आयात नबढ्ने गरी अनुत्पादक भनिएका क्षेत्रको कर्जा सीमामा हेरफेर गरेको हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो कर्जाको जोखिम भारीत १५० प्रतिशतलाई घटाएको छैन । तर, २५ लाख सम्मको सेयर धितो कर्जालाइ शतप्रतिशत जोखिम भारित व्यवस्था गरेको सीमा बढाएर ५० लाख पुर्याएको केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकरीले बताए ।

त्यसैगरी केन्द्रीय बैंकले २५ लाखसम्मका हायर पर्चेज कर्जाको पनि जोखिम भार व्यवस्था घटाउने निर्णय गरेको बताउँदै गभर्नर अधिकारीले भने,“साना खालका अटो कर्जाको जोखिम भारीत घटाउने निर्याय भएको हो ।” साथै केन्द्रीय बैंकले नेपाल सरकारको नीति अनुसार दर्ता भई सञ्चालनमा रहेका रियल स्टेटहरुको हकमा भने जोखिम भारित १५० बाट घटाई शतप्रतिशतमा झार्ने निर्णय भएको उनले बताए ।

हाल २५ लाखसम्मको सेयर कर्जाको जोखिम भार घटाएर सय प्रतिशत कायम छ । त्यसैगरी सवारीसाधन खरीद कर्जाका साथै रियल स्टेट र शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत छ । चालु आर्थिक वषृको मौद्रिक नीतिले सेयरधितो कर्जा २५ लाखको सीमालाई ५० लाख कायम गरेको छ भने रियल स्टेटेमा २ करोडसम्ममा आवसीय घर कर्जा र साना खालका अटो कर्जाको जोखिम भार पनि घटाएको गभर्नर अधिकारीले जानकारी दिए ।

केन्द्रीय बैंकले आन्तरिक उत्पादन बढाउनका लागि उत्पादन मूलक क्षेत्रका साना तथा मझौला उद्योगहरुलाई प्राथमिकता राखेको गभर्नर अधिकारीको भनाइ छ । गभर्नर अधिकारीले बैंक वित्तीय संस्थाबाट प्रबाह भएको कर्जाको दुरुपयोगको सन्दर्भमा पुर्ण रुपमा असुली हुने बताए । “दुरुपयोग भएको भएपनि कर्जा असुली हुन्छ,” उनले भने,“असुली भएको कर्जा राज्य कोषमा जम्मा हुन्छ र सम्बन्धित बैंकलाई कारबाही पनि हुन्छ ।”

बैंक तथा वित्तीय संस्थाबाट प्रबाह भएका र हुने ठूला कर्जा लिनै नहुने भन्ने बुझाई राख्न नहुने सुझाए । ठूला कर्जा लिनेले नै रोजगार बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने उनको भनाइ छ । ठूला कर्जाको हकमा केन्द्रीय बैंक मोनिटरीङ गर्नु पर्छ र त्यो गर्दै पनि आएको उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।