सञ्चालकले सेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको ध्यानाकर्षण

0
Shares

सञ्चालकहरुले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ । सिंहदरबारमा अर्थमन्त्री डा.महतलाई आइतबार ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यवहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको बताएको हो ।

चेम्बरद्धारा अर्थन्त्री डा महतलाई बुझाईएको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत एवं संगठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित “कुनै व्यक्ति संचालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने” व्यवस्था व्यवसाय अनुकुल छैन, । ’

कुनैपनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितीमा उद्योग व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने चेम्बरले जनाएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डको पछिल्लो निर्णयले कतिपय अवस्थामा घरायसी कार्यमा समेत अवरोध आउन सक्ने भएकाले सच्याउनका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । बोर्डको निर्णयले व्यवसायीहरुलाई मर्कामा पार्ने अध्यक्ष मल्लको भनाई छ ।

सञ्चालकले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी जुनसुकै समय बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरले अग्रह गरेको छ । बोर्डले गरेको व्यवस्था भारत लगायत अन्य कुनै पनि राष्ट्रमा प्रचलनमा नरहेको अध्यक्ष मल्लको भनाई छ ।

आफूसँग भएको सेयरको कम्तिमा ५० प्रतिशत हिस्सा बिक्री गर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराएको छ । चेम्बरको ध्यानकर्षण पत्र बुझ्दै अर्थमन्त्री डा. महतले चेम्बरले गराएको ध्यानाकर्षण प्रति आफु सकारात्मक रहेको बताए ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।