विकास ऋणपत्रको ब्याजदर बढ्यो, गत वर्षको औसत भन्दा २ प्रतिशत विन्दुले कम

0
Shares

चालु आर्थिक वर्षको सुरु भएपछि विकास ऋणपत्रको ब्याजदर पनि बढ्दो क्रममा देखिएको छ । गत असार महिनाको तुलनामा ब्याजदर बढेको भएपनि गत आर्थिक वर्षको औसतको तुलनामा भने २ प्रतिशत विन्दुले कम हो ।

गत आर्थिक वर्षमा सरकारले निष्कासन गरेको विकास ऋणपत्रको औसत ब्याजदर ८.६४ प्रतिशत छ । चालु आर्थिक वर्षको पहिलो विकास ऋण ऋणपत्रको कट अफ रेट ६.५० प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ । बिहीबार बोल भएको विकास ऋणपत्रको कट अफ रेट गत असार २१ गतेको तुलनामा ०.१५ प्रतिशत विन्दुले धेरै हो । गत असार २१ गतेको विकास ऋणपत्रको कट अफ रेट ६.३५ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सरकारका लागि विकास ऋणपत्र मार्फत आन्तरिक ऋण उठाएको छ ।सरकारले विकास निर्माणका लागि आवश्यक स्रोतको व्यवस्थापन गर्न लिने आन्तरिक ऋण संकलन गर्न विकास ऋणपत्र निष्काशन गर्छ । पछिल्लो समयमा विकास ऋणपत्र मात्र नभई ट्रेजरी बिल्सको डिस्काउन्ट रेट लगायतका अल्पकालिन दरहरु बढेका छन् ।

बिहीबार राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरेकोमा अप्रतिस्पर्धी आवेदकबाट आवेदन नै आएको छैन। उक्त ऋणपत्रका लागि २८ अवेदकले ९४ वटा आवेदन बुझाएको केन्द्रीय बैंकले जनाएको छ । निष्काशित कुल रकम नै प्रतिस्पर्धी बोलवाहरुलाई नै बाँडफाँड गरेको केन्द्रीय बैंकले जनाएको छ।

विकास ऋणपत्रको ब्याजदर निर्धारण गर्दा अप्रतिस्पर्धीको भुमिका हुँदैन । कट अफ रेट तय गर्दा प्रतिस्पर्धीको बोल आवेदन मार्फत निर्धारण हुन्छ । सोही अनुसार कट अफ रेटमा अप्रतिस्पर्धीलाई छुट्याएको विकास ऋणपत्र बाँडफाँड हुन्छ । यसमा लगानी गर्ने लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउने राष्ट्र बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।