‘पन्ध्रौं नाडा अटो शो’ भाद्र २६ देखि आयोजना हुने, ७५ हजारले अवलोकन गर्ने

0
Shares

नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले भाद्र २६ देखि नाडा अटो शोको १५ औं संस्करण ‘नाडा अटो शो–२०२३’ आयोजना गर्ने भएको छ । भाद्र ३१ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा ‘नाडा अटो शो २०२३’ आयोजना हुने भएको हो ।

सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनीमा ठूला तथा साना गरि १२० वटा स्टल र ब्लकहरु रहने नाडाले जनाएको छ । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहने छ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चारपाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने छ ।

कोभिड महामारी लगायत अन्य विभिन्न कारणबाट नाडा अटो एक्स्पो २०२०, २०२१ र २०२२ आयोजना हुन सकेको थिएन । चार वर्षपछि हुन लागेको यस प्रर्दशनीमा अवलोकनकर्ताहरूले विद्युतीय सवारी साधनहरू लगायत चार वर्षपछि हालसम्मका नयाँ मोडलका गाडीहरू अवलोकन गर्न पाउनेछन् ।

यस्तै प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने वित्तीय सेवा, बिक्रीपछिका सेवा आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन् । अटो सम्बन्धी जानकारी दिने म्यागेजिन तथा पत्रपत्रिकाहरुका लागि पनि छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ । हाल विद्यमान बजार सुस्तताका बावजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने छ ।

६ दिनसम्म चल्ने उक्त नाडा अटो शो २०२३ मा ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास गरिएको छ । यस प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यसैगरी प्रदर्शनीको डोर प्राइजमा वाडिया, टिकटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ्क, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेको छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।