प्रथम त्रैमासदेखि इसीएल अनुरुप कर्जा नोक्सानी व्यवस्था गर्न डेपुटी गर्भनरको सुझाव

0
Shares

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासको प्रतिवेदनदेखि नै वित्तीय प्रतिवेदनमान–९ अनुसारको कर्जा नोक्सानी व्यवस्था–इसीएल (एक्सपेक्टेड क्रेडिट लस) व्यवस्था गर्न सुझाव दिएका छन् ।

वित्तीय संस्था संघले आयोजना गरेको नेपाल वित्तीय प्रतिवेदन मान–९ सम्बन्धी दुई दिने तालिम समापनमा बोल्दै डेपुटी गर्भनर मिश्रले सोही अनुरुप कर्जा नोक्सानी कायम गर्नुपर्ने भएकोले वित्तीय संस्था संघलाई आफ्ना कार्यरत कर्मचारीहरुलाई पोख्त बनाउन निर्देशन दिए ।
विभिन्न सफ्टवेयरमा ठूलो धनराशी खर्च गर्नुभन्दा एक्सेललाई नै पूर्ण रुपमा प्रयोग गरी कर्जा नोक्सानी व्यवस्था गणना गर्न सकिने भएकोले त्यसतर्फ लाग्न र सफ्टवेयर खरिद बापत हुने ठूलो विदेशी मुद्रा खर्च रोक्न समेत मिश्रले सुझाव दिए ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै सह–आयोजकका तर्फबाट सीए रमेश धितालले एफआरएस–९ को गणनाका लागि विगतका वर्षहरुका कर्जाका तथ्यांक एकरुपकताका साथ राख्नुपर्ने साथै कर्जा, जोखिम, आन्तरिक लेखापरीक्षण, सुचाना प्रविधि विभाग सम्मिलित समिति तत्काल गठन गरी बैंक तथा वित्तीय संस्थाले २ वर्ष नकुरी पूर्व तयारीमा रहनुपर्ने बताए ।

साथै सीए धितालले प्रतिवेदन मान–९ लागू गर्न आवश्यक पूर्वाधार विकासको लागि सहजीकरण गर्न तथा छिमेकी मुलुकमा गरिएका इसीएल कार्यान्वयनका अभ्यास अध्ययन गरेर केन्द्रीय बैंकले मार्ग दर्शन प्रदान गर्न समेत अनुरोध गरे ।

कार्यक्रमको समापन गर्दै वित्तीय संस्था संघका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले उपस्थिति सबैमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको समापन सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र, बैंक सुपरीवेक्षण विभाग प्रमुख देव कुमार ढकाल, नियमन विभाग प्रमुख डा. गुणाकर भट्ट, वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख विश्रुत थापा तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका निर्देशन राजन विक्रम थापाको सहभागीता रहेको थियो ।

तालिममा विभिन्न वित्त कम्पनीमा कार्यतर ४५ जना भन्दा बढी विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।