आर्थिक मन्दिले तीजमा सस्तो मूल्यका सारीको बढी कारोबार


तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ । विगतका तुलनामा यसवर्ष टीकापुर बजारमा ५०० देखि एक हजार ५०० रुपैयाँ सम्मका सारी किन्ने महिला बढी आउन थालेका छन् । महिला खर्च व्यवस्थापनमा ध्यान दिँदै बजारमा सबैभन्दा सस्तो मूल्यमा पाइने सारी किन्न थालेका छन् । व्यापारी पनि ५०० रुपैयाँका सारीको कारोबार सबैभन्दा राम्रो भइरहेको बताउँछन् ।

टीकापुरकी अनु रतनले पनि ५०० रुपैयाँको सारी किने । उनले हरेक पर्वमा नयाँ सारी लगाउन मनलाग्ने भएकाले सारीमा धेरै खर्च गर्न नखोजेको बताए । ‘‘विगतमा महँगो सारी किनिन्थ्यो, एकपटक किनेको सारी धेरै कार्यक्रम तथा पर्वमा लगाइन्थ्यो’’, उनले भनिन्, ‘‘आजभोलि त्यस्तो गरिदैन, हरेक पर्वमा नयाँ सारी किन्ने र नयाँ लगाउने गरिन्छ । नयाँ पहिरन लगाएपछि फोटो खिच्ने, टिकटक बनाउने, सामाजिक सञ्जालमा राखिन्छ ।

त्यसपछि त्यो फेरि लगाउन मन लाग्दैन । त्यसैले सस्तो लगाउने बरु नयाँ लगाउने हो ।’’ अनुजस्तै दुर्गा शाहीले पनि सस्तो सारी किन्ने तयारी गरेकी छन् । घरमा सारी धेरै भएकाले एक दिनका लागि मात्र चाहिने हुँदा उनी पनि ५०० को साडी किन्ने तयारीमा रहेकी छन् । ‘‘घरमा सारी राख्ने ठाउँ छैन तर तीजको व्रत बस्ने भएकाले नयाँ लुगा चाहियो’’, उनले भनिन्, ‘‘त्यसैले सबैभन्दा सस्तो किन्ने तयारी छ ।

आर्थिक समस्या पनि छ । त्यसैले धेरै खर्च नगर्ने सोचेकी छु ।’’टीकापुरकी दुर्गा साउद मध्यम खालको साडी किन्ने तयारीमा छिन् । उनी पनि साडीमा अनावश्यक खर्च गर्ने तयारीमा छैनन् । ‘‘सबै साथीले बजारमा न्यून मूल्यका सारी आएकाले त्यही किन्ने तयारी गरेको छ ।

म पनि धेरै खर्च गर्दिन’’, उनले भनीन्, ‘‘न्यून मूल्यका सारी लगाएमा सबैमा समानता पनि देखिन्छ । यी सारी ग्रामीणदेखि सबै क्षेत्रमा महिलाले लगाउन थालेका छन् ।’’तीज नजिकिएपछि टीकापुर बजारमा किनमेल गर्न बजार आएकी विपना जोशी र एनिका रावल पनि सस्तो सारी लगाउने, अनावश्यक खर्च नगर्ने बताईन् ।

विगतमा बजारमा पनि ५०० रुपैयाँका सारी पाइदैनथ्ये । सारी भनेपछि मानिस एक हजार रुपैयाँमाथिका किन्नुपर्छ भन्ने ठान्थे तर अहिले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा भाइरल भइदिँदा भाइरल कपडाको प्रयोग पनि बढ्दै गएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका कपडाको मूल्य पनि सबैले थाह पाउने हुँदा ब्यापारी पनि सस्तो मूल्यका कपडा बिक्री गर्न बाध्य छन् ।

तीज नजिकिएपछि सिलाइकटाइको काम गर्नेलाई भ्याइनभ्याइ भएको छ । तीजमा सारी पिको गर्ने, ब्लाउज सिलाउने लगायतका काम बढेको रामदुलारी चौधरी बताईन् । ‘‘करिब एक महिनादेखि राम्ररी सुतेको छैन, बिहान ४ बजेदेखि राति १२ बजेसम्म काम गर्नुपरेको छ’’, उनको भनाई छ । ‘‘चाडपर्वमा अधिकांशले नयाँ लुगा लगाउने भएकाले हामीलाई काम धेरै हुन्छ ।’’

तीज नजिकिएपछि साडीको कारोबार बढेको व्यापारीको भनाइ छ । व्यापारीका अनुसार विगतमा महँगा साडी बिक्री हुन्थे । आजभोलि उत्पादन नै सस्तो साडी हुने र आर्थिक मन्दिका कारण रकम अभावले पनि सस्ता कपडा बिक्री बढी भइरहेका कालिका टेडर्सका सञ्चालक सिंहमान विष्टले बताईन् । ‘‘विगतमा धेरैले महँगो सारी किन्ने गर्दथे, तीन वर्ष अघिसम्म पाँच हजार रुपैयाँबाट सारी बिक्री हुन्थे’’, विष्टले भने, ‘‘गत वर्षबाट ५०० रुपैयाँबाट सारी बिक्री सुरु हुन्छ । यसले व्यापारमा असर पारेको छैन ।’’

ब्यापारी विष्टका अनुसार न्यून मूल्यका सारी बजारमा आएपछि सबैले सारी लगाउन थालेका बताए । ‘‘यसपटक सारी नकिन्ने कोही छैनन्, गाउँका सबै महिलाले सारी किनेर लगेका छन्’’, उन भने, ‘ ५०० देखि एक हजार ५०० रुपैयाँसम्मका बढी बिक्री भएका छन् ।’’

अर्का ब्यापारी गणेश बस्त्रालयका भवानी ढुङ्गाना पनि न्यून मूल्यका सारीको राम्रो कारोबार भइरहेको बताईन् । ‘‘सबैलाई सारी चाहिएको छ, बढी मूल्यका कमैले मात्र लिन्छन्’’, उनले भनिन्, ‘‘अझ घरपरिवारका दिदीबहिनीले एकैनासका लगाउने चलन बढेको छ।’’

चाडपर्व हाम्रा संस्कृति र सभ्यतासँग जोडिएका छन् । चाडपर्व मनाउँदा अनावश्यक खर्च गर्न नहुने धेरैको सुझाव छ । ‘‘चाडपर्व हरेक वर्ष आउँछन्, हरेक पर्वमा नयाँ र महँगो लुगा लगाउनुपर्छ भन्ने छैन’’, अधिकारकर्मी योजना अधिकारीले भनिन्, ‘‘सस्तो पहिरन, पुराना कपडा लगाएर पनि पर्व मनाउन सकिन्छ । अन्यले किनेको देखेर अनावश्यक खर्च नगरौँ ।’’ -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।