२२ लाख पर्ने विद्युतीय कार टाटा टियागो नेपाली बजारमा, नाडा अटोमा सार्वजनिक


नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली उपभोक्ता अनुकुल बजेटको विद्युतीय कार सार्वजनिक गरेको छ । मंगलबार सवारी साधनको कुम्भ मेला नाडा अटो शोमा टाटा टियागो इलेक्ट्रीक कार सार्वजनिक गरिएको हो ।

कार चढ्न चाहने तर खरिद गर्न आर्थिक क्षमता बढी हुनुपर्ने अवस्था रहेको बेला सिप्रदीले तल्लो मूल्यमा कारको बिक्री वितरण सुरु गरेको हो । मंगलबारदेखि बिक्री सुरु भएको उक्त टाटा टियागोको बजार मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । उक्त मूल्य नेपाली बजारमा उपलब्ध टाटाका विद्युतीय सवारीमा सबैभन्दा कम मूल्यको रहेको कम्पनीले जनाएको छ । टियागो ईभी २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्मको भेरियन्टमा उपलब्ध हुने सिप्रदी ट्रेडिङले जनाएको छ ।

केही दिन अघिदेखि नै बुकिङ खुल्ला भएको उक्त कारमा डिसी चार्जर सपोर्ट गर्ने १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री उपलब्ध हुने सिप्रदीले जनाएको छ । सामान्य घरायसी बिजुलीमा सानो चार्जरको प्रयोगले ८ घन्टामा फुल चार्ज हुने टियागो डिसी फास्ट चार्जरमा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए ।

५० किलोवाट क्षमताको मोटरमा प्रयोग भएको टियागोका अधिकतम पावर ६९ पीएस र टर्क १७० न्यूटन मिटर रहेको छ भने एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको लञ्च कार्यक्रममा जानकारी दिइएको थियो ।

अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचर रहेको टियागोमा लेदरेटेड सिट छन् ।

भारतको हालसम्मकै सबैभन्दा सस्तो विद्युतीय कारका रुपमा परिचित टियागो टिल ब्लु, डेटोना ग्रे, ट्रोपिकल मिस्ट, प्रिस्टिन ह्वाइट र मिडनाइट प्लम गरी ५ रंगमा उपलब्ध हुने सिप्रदी ट्रेडिङले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।