सानीमा ग्रुपको अकामा होटलको वार्षिक आम्दानी साढे १७ करोड

0
Shares

व्यापारिक घराना सानीमा ग्रुप अफ कम्पनीजको लगानी रहेको अकामा होटल लिमिटेडले आर्थिक वर्ष २०७९÷८० मा १७ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा १० करोड सञ्चालन आम्दानी गरेको होटलको आम्दानी गत आर्थिक वर्षमा ७६ प्रतिशतले बढेको हो । गत आवमा पर्यटकहरुको आगमनमा भएको वृद्धिसँगै कम्पनीको आम्दानी बढेको हो ।

गत आवमा कम्पनीले बैठक, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जीभीसन मार्फत ६१ प्रतिशत आम्दानी गरेको छ भने रुम सेल्स मार्फत कम्पनीले ३६ प्रतिशत आम्दानी गरेको छ । पर्यटकहरुको आगमनमा भएको वृद्धिसँगै होटलको अकुपेन्सी रेट समेत बढेको छ । अघिल्लो आवको तुलनामा रुमको अकुपेन्सी दर ३० प्रतिशतले बढेको होटल सञ्चाकहरुको भनाइ रहेको छ ।

अकुपेन्सी बढ्दै जाँदा कम्पनीको आम्दानी बढेको छ । होटलको आम्दानीमा भएको वृद्धिसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा समेत सकरात्मक सुधार देखिएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा गत आर्थिक वर्षमा कुल सञ्चालन आम्दानीको ३९.५३ प्रतिशत रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा १०.३३ प्रतिशत थियो ।

सन् २०१४ मा स्थापना भएको चार तारे होटल सन् २०२२ मा प्राइभेट लिमिटेडबाट लिमिटेडमा रुपान्तरण भएको हो । करिब ९ रोपनी जमीनमा निर्माण भएको यो होटल काठमाडौँको धुम्बराईमा अवस्थित छ । होटलमा सानीमा ग्रुपको लगानी रहेको छ । जसकारण होटललाई वित्तीय तथा प्राविधिक सहयोग मिलिरहेको छ । होटलका महाप्रबन्धक भरत कुमार जोशी हुन् । उनको नेतृत्वमा होटलको सम्पूर्ण कामहरु सञ्चालन हुँदै आएको छ ।

होटलले १ अर्ब ३४ करोड ९ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । १ अर्ब २९ करोड ५९ लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयरनेपालले डबल बी माइन्स र ४ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

होटलले उपलब्ध गराएको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ०.५३ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।