पाँचतारे होटल “मक्र्युर काठामाडौँ” निर्माणका लागि २ अर्ब कर्जा, अर्को वर्ष सफ्ट ओपनिङ

0
Shares

विश्व प्रसिद्ध एकोर ग्रुपसँगको सहकार्यमा दी मेट्रोपोलिटन होटल प्रालिले काठमाडौँको सुकेधारामा पाँच तारे होटल निर्माण गर्दै छ । निर्माणाधीन होटल ‘मक्र्युर काठामाडौँ’ ब्रान्डनामबाट सञ्चालनमा आउने भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको टुरिजम एन्ड एयर ट्रान्सपोर्ट समितिका अध्यक्ष देशबन्धु वस्नेत (अजित) को अगुवाइमा निर्माण हुँदै गरेको यस होटलको निर्माणको लागि मेट्रोपोलीटान होटल प्रालिले १ अर्ब ९७ करोड ५० लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले १ अर्ब ९७ करोड बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स रेटिङ गरेको हो ।

यस होटलको कुल निर्माण लागत ४१ प्रतिशत कर्जा र ५९ प्रतिशत इक्युटी रहेको छ । यो परियोजनाको सुरुवाती लागत १ अर्ब ५६ करोड ३० लाख अनुमान गरिएता पनि सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण कच्चा पदार्थको आपूर्ति श्रृङ्खला अवरोध हुँदा होटलको निर्माण लागत बढेको छ ।

यस्तै होटलले ब्रान्डनामका लागि विभिन्न चर्चित कम्पनीहरुसँग सहकार्य गर्न खोज्दा, निर्माण शैलीमा परिवर्तन आउँदा पनि होटल निर्माणको लागत बढ्दै गएको छ । सुरुवाती अनुमानको तुलनामा कम्पनीको निर्माण लागत खर्च ४५ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

सन् २०२० देखि निर्माण कार्य सुरु भएता सन् २०२३ को अगस्ट महिनासम्म होटलको भौतिक निर्माण कार्य ८४ प्रतिशत मात्रै सम्पन्न भएको छ । इन्टेरियर डिजाइन, पल्बिङ लगायतका अरु कार्यहरुको निर्माण बाँकी नै रहेको छ । यद्यपि मेट्रोपोलिटन होटल प्रालिका अनुसार होटलको सफ्ट ओपनिङ सन् २०२४ मा हुने छ ।

होटल व्यवसायमा १३ वर्ष लामो अनुभव बटुलेका देशबन्धु बस्नेत (आजित) को सेयर कम्पनीमा ४५ प्रतिशत रहेको छ । यसका साथै यस होटलमा नेपाल उद्योगवाणिज्य संघका कार्यसमिति सदस्य– बिजय मल्ल र राजेन्द्र राउतको समेत लगानी रहेको छ ।

काठमाडौँको सुकेधारामा निर्माण भइरहेको यस होटलमा कुल १०६ कोठा रहेका छन् । होटलमा अल–डे डाइनिङ, मल्टी–कुजीन रेष्टुरेन्ट, बार, मिटिङ रुम, स्वीमिङ पुल, फीटनेस सेन्टर, कन्फेरेन्स रुमको सुविधा हुनेछ ।

पछिल्लो समयमा काठमाडौँमा पाँच तारे होटलको सङ्ख्या बढ्दै गएको छ । विभिन्न अन्तराष्ट्रिय होटलहरुले नेपालमा आफ्नो ब्रान्ड विस्तार गरिरहेका छन् । यसै प्रतिस्पर्धाका बीच होटल “मक्र्युर काठामाडौँ”ले आफूलाई बजारमा बिस्तार गर्न र सञ्चालनको छोटो समयमै नाफा कमाउन कठिन छ । तथापि एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका १०० बढी देशका ५ हजार ३ सय बढी होटलहरुको व्यवस्थापन हेरिरहेको एकोर समूहले यस होटलको व्यवस्थापन समहाल्ने हुँदा होटलले आगामी समयमा राम्रो आम्दानी गर्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।