नाडा शोले अटो बजारमा उत्साह, विद्युतीय सवारीसाधनमा देखियो क्रेज

0
Shares

लामो समय आर्थिक मन्दीको चपेटामा परेर थलापरेको नेपालको अटो बजारमा उत्साह थप्दै तीन वर्षपछि आयोजना भएको नाडा अटोशो समापन भएको छ । भदौ २६ देखि सुरु भएको १५औं संस्करणको नाडा अटो आइतबार अर्थात भदौ ३१ गते सकिएको छ ।

६ दिनसम्म चलेको नाडा अटो शो आर्थिक मन्दीले निम्ताएको निरास समयका बीचमा सुरु भएको थियो । तर, अवलोकनकर्ताको सहभागिता र विद्युतीय सवारीसाधनमा देखिएको क्रेजले धेरैलाई उत्साहित बनाएको छ । आयोजकले करिब ७० हजार मानिसले अवलोकन गर्ने लक्ष्य राखेकोमा त्यो लक्ष्य लगभग पुरा भएको छ । मेलाको ५औं दिन पूरा हुँदा करिब ६५ हजार मानिसले अटो शो भ्रमण गरिसकेका छन् ।

यस वर्षको अटो शोमा सबैभन्दा धेरै विद्युतीय कारमा आकर्षण देखियो । त्यसमा पनि विशेषगरी टाटा, बीवाइडी, एमजी, नेटा र सेरेस जस्ता ब्राण्डमा सबैभन्दा धेरै भिडभाड देख्न सकिन्छ । त्यस्तै अटो शोमा रहेका सिट्रोन, ग्रेटवाल मोटर्ससँग पनि ईभी उपलब्ध भएको कारण ग्राहकले चासो देखाएका छन् । परम्परागत र न्यू इनर्जी भेहिकलमा बलियो उपस्थिति रहेको हुन्डाई र मिफा-९ ल्याएको मेक्सस ब्राण्डमा पनि राम्रो भिडभाड देख्न सकिन्थ्यो ।

सुजुकी, निसान, महिन्द्रा र कियाले पनि आफ्नो स्टलमा ग्राहकलाई आकर्षित गर्न सकेका छन् । आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर भएको अटो शोमा राम्रो संख्यामा गाडी बुकिङ भएको अनुमान लगाइएको छ । दुई पाङ्ग्रे सवारीसाधनमा भने ग्राहकको आकर्षण सोचेजस्तो हुन सकेको छैन । अटो शोमा नयाँ मोडल ल्याउने एकाध ब्राण्ड बाहेक अधिकांश मोटरसाइकलको स्टलमा अवलोकनकर्ताको चासो कम भएको हो कि भन्ने भान हुन्छ ।

रोयल इनफिल्ड, टीभीएस जस्ता ब्राण्डले नयाँ मोडल ल्याएर ग्राहक तानेको देख्निछ । यस बाहेक सेगवे, याडिया र बेनेली जस्ता ब्राण्डमा ग्राहकको उपस्थिति राम्रो रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।