गोयल ग्रुपको सप्तकोशी सिमेन्टको बार्षिक कारोबार २ अर्ब ३५ करोड

0
Shares

देशमा कोभिड–१९ सिर्जित आर्थिक मन्दीको असर घट्दै जाँदा निर्माण व्यवसायका कामहरुले निरन्तरता पाउन थालेका छन् । यससँगै सिमेन्ट उद्योग, स्टील उद्योग, फर्निचर तथा फर्निसीङ उद्योगहरुको आम्दानीमा सकरात्मक सुधार देखिएको हो ।

गोयल ग्रुपको लगानी रहेको सप्तकोशी सिमेन्ट प्रालिले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ३५ करोड सञ्चालन आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आवमा १ अर्ब ७९ करोड १० लाख सञ्चालन आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कम्पनीको सञ्चालन आम्दानी ३१ प्रतिशतले बढेको हो ।

कम्पनीको आम्दानी बढेता पनि अन्य वित्तीय सूचांक कमजोर देखिएका छन् । कम्पनीको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा ह्रास आएको छ भने ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफामा समेत गिरावट आएको छ ।

सन् १९९६ मा स्थापना भएको कम्पनीले ३ वर्ष अगाडि नेशनल सिमेन्ट प्रालिबाट नाम परिवर्तन गरी सप्तकोशी सिमेन्ट उद्योग नामाकरण गरेको हो । कम्पनीले ओपिसी सिमेन्टको उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ ।

कम्पनीका दुईवटा युनिट सञ्चालनमा रहेका छन् । युनिट–१ को उत्पादन क्षमता १०० टन र युनिट–२ को ५०० टन प्रति दिन रहेको छ ।

कम्पनीमा गोयल ग्रुपको लगानी रहेको छ । विगत १२ वर्षदेखि सिमेन्ट उद्योगमै काम गर्दै आएका आशिष गोयल अध्यक्ष रहेका छन्। कम्पनीले १ अर्ब १२ करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । २० करोड ९४ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र ९१ करोड बराबरको कर्जाका लागि ए४ रेटिङ केयर नेपालले दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।