असोजभित्र वार्षिक नवीकरण शुल्क नबुझाउने कम्पनीको सेयर सूचीकरण स्थागन हुने

0
Shares

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तभित्र धितोपत्रको वार्षिक नवीकरण शुल्क भुक्तानी गर्न सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ ।

मंगलबार सूचना जारी गर्दै नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ ‘क’ र ‘ख’ मा भएको व्यवस्था बमोजिम सूचीकृत कम्पनीहरुलाई समयमा नै वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

चालु आर्थिक वर्ष २०८०–८१ को प्रथम त्रैमास अर्थात असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क भुक्तानी नगर्ने सूचीकृत कम्पनीहरुको कार्तिक १ गतेदेखि धितोपत्र सूचीकरण स्थगन हुने नेप्सेले जनाएको छ । असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क नबुझाउने सूचीकृत कम्पनीहरुको धितोपत्र सूचीकरण विनियामावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्ने चेतावनी नेप्सेले दिएको हो ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी हुनेले वार्षिक ५० हजार रुपैयाँ तथा पचास करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजी हुने सूचीकृत कम्पनीहरुले नवीकरण शुल्क वापत वार्षिक १ लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यस्तै, डिवेन्चर वा म्युचुअल फन्डको वार्षिक नवीकरण शुल्क वापत ५० करोड रुपैयाँसम्मको चुक्ता पुँजी हुनेले २५ हजार र ५० करोड रुपैयाँ धेरै हुनेले ५० हजार रुपैयाँ वार्षिक शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

नेप्सेले तोकिएका समयमा नवीकरण शुल्क नबुझाउने कम्पनीलाई नेप्सेले १० प्रतिशतका दरले जरिवाना गर्ने तथा धितोपत्र सूचीकरण विनियामावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्नसक्ने कानुनी व्यवस्था छ ।

वार्षिक शुल्क नेप्सेको नाममा ग्लोबल आइएमई बैंक कमलादी शाखामा रहेको खाता नम्बर ७५०१०१००००७७५ मा जम्मा गरी बैंक भौचर नेप्सको इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।