गोल्यान ग्रुपको त्रिकोट इन्डष्ट्रीजको आम्दानी ३७ प्रतिशतले बढ्यो

0
Shares

व्यापारिक घराना गोल्यान ग्रुपको लगानी रहेको कस्मीरी लुगा उत्पादक कम्पनी–त्रिकोट इन्डष्ट्रीजको आम्दानीमा आकर्षक वृद्धि देखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ३८ करोड १० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ५२ करोड ३० लाख आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा गत वर्षमा कम्पनीको आम्दानी ३७ प्रतिशतले बढेको हो।

सन् १९९९ मा गोल्यान ग्रुप र जेभी पार्टनर्सको संयुक्त लगानीमा मकालु कस्मिरी ब्रान्डनामबाट स्थापना भएको कम्पनीलाई सन् २००६ मा गोल्यान ग्रुपले अधिग्रहण गरी नाम परिवर्तन गरी त्रिकोट इन्डष्ट्रिज राखेको हो । कम्पनीले कस्मिरी, मेरिनोस, कस्मिरी बेलेन्ड लगायतका सामाग्रीहरुबाट बुनेका कपडाहरु उत्पादन गर्दै आएको छ ।

कम्पनीले कस्टुमाइज्ड स्वीटर, स्र्काफ, सल, ह्याट, ब्लान्केट लगायतका सामाग्रीहरु उत्पादन गर्दै आएको छ । हाल कम्पनीका १५ भन्दा धेरै सक्रिय बिक्रेताहरु रहेका छन् । कम्पनीले उत्पादन गरेका कपडाहरु विशेषतः युरोप र अमेरिकामा बिक्री हुँदै आएका छन् ।

६० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले २५ करोड बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र ३५ करोड बराबरको अल्पकलाीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.८७ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।